पार्थ मण्डल,
झापा । झापामा नेपाली सेना परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो।

कचनकवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टामा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार कचनकवलको सुनुकनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको क्‍वारेनटाइनको व्यवस्थापन र काँकडभिट्टाबाट नाकामा दुवै देशका नागरिकलाई आवतजावतमा सहजीकरण गर्ने उद्देश्यले नेपाली सेना राख्न लागिएको हो ।

कचनकवलमा प्रदेश १ कै सबैभन्दा बढी १०३ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ भने काँकडभिट्टामा दैनिक सयौँ सङ्ख्यामा नेपाली र भारतीय नागरिक आआफ्नो देश फर्किरहेका छन्।

यसअघि कलवलगुरी प्रशिक्षक केन्द्र भद्रपुर, मेची बहूमुखी क्याम्पस भद्रपुर र कञ्‍चनजंघा हेल्थ इन्स्टिच्युट एन्ड नर्सिङ कलेज बिर्तामोडको क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ।