काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा शुक्रबार झापाका १२ जनासहित थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ९१२ पुगेको जनाए । संक्रमित हुनेमा सुनसरीका ८ जना, झापा १२, मोरङका ६ जना, अर्घाखाँचीका १ जना, नवलपरासीका २ जना, पाल्पाका १ जना, रुपन्देहीका १८ जना, सिन्धुलीका २ जना, बाराका ३ जना, तनहुँका २ जना, भोजपुरका ५ जना र सुनसरीका १३ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ४ जना, अछामका १ जना, बझाङका १ जना, रामेछापका १७ जना, काभ्रेका ५ जना, दैलेखका ९० जना, जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना, गोरखाका १ जना, दाङका १ जना, सुर्खेतका १ जना, धनुषाका ४ जना, गुल्मीका १ जना, कपिलवस्तुका ४४ जना, कास्कीका १ जना, महोत्तरीका १७ जना र रौटहटका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६६ हजार ७६५ रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ५६८ जना रहेका छन् ।

२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४३ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या ३३३ रहेको छ ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ३२ हजार ९ सय ६६ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ८८ हजार ३ सय ६६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक र सुर्खेतका एक गरी ११ जनाको मृत्यु भएको छ ।