काठमाडौं । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ ।

दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

यूएईले दुई वटा उडान मार्फत् अलपत्र परेकालाई नेपाल पठाइदिने प्रस्ताव राखेको थियो । जसमध्ये पहिलो उडान शुक्रबार तय भएके हो । यूएईले एकसय ६८ सिट क्षमता भएको विमानमा उनीहरुलाई नेपाल पठाउन लागेको हो ।

‘भिजिट भिसामा गई अलपत्र परेका र गर्भवती महिलालाई प्राथमिकतामा राखिएको छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दूतावासले जहाजको क्षमता अनुसार नै नेपालीलाई पठाउनको लागि आन्तरिक तयारी गरिरहेको छ ।’

दूतावासको सर्म्पकमा ५० जना गर्भवती महिला छन् । पहिलो उडानमा सहभागी गराउन नसकिएमा दोस्रो उडानमा सहभागी गराउने दूतावासको भनाई छ ।

विमानमा आउने सबै यात्रुको कोभिड परीक्षण गराएर मात्रै ल्याउने परराष्ट्रको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरीक उड्डायन मन्त्रालयले बिहीबार अबेर मात्रै एयर अरेबियालाई अनुमति दिए लगत्तै परराष्ट्र मन्त्रालयले यूएईस्थित नेपाली दूतावासलाई उडानको अनुमति पठाएको हो । तर, वायुसेवा निगमले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्सबाट मात्रै कामदार ल्याउनुपर्ने अडानमा थियो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ ।

म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाले २१० नेपाली नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।