रमेश समदर्शी,

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा पनि दुई व्यक्तिमा आज कोरोना पुष्टि भएको छ । यस नगरमा पहिलाेपल्ट काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका दुई युवामा कोरोना पुष्टि भएको हो । पीसीआर परीक्षणका लागि शनिबार बिहान उनीहरुको स्वाब संकलन गरी कोशी कोभिड अस्पताल विराटनगर पठाइएको थियो ।

क्वारेन्टाइमा रहेका ५२ जनामध्ये ४४ जनाको स्वाब संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको थियो । क्वारेन्टाइनमा शनिबार ६ जना थपिएर ५८ जना छन् । कोरोना पुष्टि भएपछि ती युवालाई थप उपचारका लागि गोठगाउँस्थित आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।

दिल्लीबाट पाँच दिनअघि पूर्वी नाका काँकरभिट्टाहुँदै उनीहरु आएका थिए । दिल्लीबाट बाघडोग्रा एयरपोर्टहुँदै पानीटंकीबाट मेची पुलसम्म आएका उनीहरुलाई अर्जुनधाराको एम्बुलेन्सले क्वारेन्टाइनमा ल्याएको थियो । संक्रमित युवाहरुको उमेर २३ र २७ वर्ष रहेको छ ।

स्थायी घर अर्जुनधारा ९ रहेका उनीहरुको रिपोर्ट पोजेटिभ आए पनि सँगै आएकी २१ वर्षीया एक महिलाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य स्रोतको भनाइ छ ।

संक्रमण पुष्टि भएका व्यक्तिसँगै एउटै कोठामा रहेका व्यक्तिलाई थप ७ दिन राखिने भएको छ । उनीहरुको थप पीसीआर परीक्षण गरेर मात्र घर पठाइने बताइएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएका ३७ जनालाई चाहिँ होम क्वारेन्टाइनमा राखिने भएको छ । यसको जानकारी सम्बन्धित वडाध्यक्षलाई गराइसकिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगरको स्वास्थ्य शाखाले यसअघि ५४ जनाको पीसीआर टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।