बिर्तामोड । झापामा सोमवार १० जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा झापामा १० जनामा संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले झापाको गौरीगञ्जका १८ देखि ४१ वर्षका छ जनामा कोेरोना पुष्टि भएको बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा उनीहरुको परीक्षण गरिएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा गौरीगञ्ज, मेचीनगर र हल्दीवारीमा एक÷एक जना संक्रमित फेला परेका छन् । उनीहरु १८ देखि ३१ वर्षका पुरुष हुन् । हल्दीवारीको क्वारेन्टाइनमा फेला परेका अर्का संक्रमित पाँचथरको लालीखर्क गाउँपालिकाका २३ वर्षीय पुरुष भएको प्रवक्ता डा गौतमले बताए । उनी हल्दीवारीको क्वारेन्टाइनमा बस्दै आएका छन् ।

भारतबाट आएर मेचीनगर वडा– ४ को पशुपति माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए । मेचीनगरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पशुपति माविको क्वारेन्टाइनमा रहेका १३ जनाको जेठ २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि कोशी प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको थियो ।