रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको हत्या गरेका छन् ।
घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको शंकामा एक जना पक्राउ गरेको छ ।
मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन् । मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन् । मृतक र हत्या गर्ने दुवै स्थानीय गाईभैंसी फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए ।
किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन । वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए ।
मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेमकुमार थापाका अनुसार मृतकको सनाखत गरिएको छ ।
हत्या गरिएकाहरुमा माधव मुसहर, जानकी मुसहर, कोषराज मुसहर, करन चौधरी र आशिष चौधरी रहेका छन् । थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताए ।
प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।