भद्रपुर। झापाका १५ वटा स्थानीय तहमध्ये १२ वटामा कोरोना भाइरस संक्रमण भेटिएको छ। सोमबारमात्रै झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सोमबार गौरीगञ्ज गाउँपालिकामा ७, हल्दिबारी गाउँपालिकामा २ र मेचीनगर नगरपालिका एक जना सङ्क्रमित भेटिएका हुन् । हल्दिबारी र मेचीनगरमा पहिलो पटक सङ्क्रमित भेटिएको हो।

गौरीगञ्ज ५ चिल्लाहारा घर भएका २२, ४१, २५, २०, ३१, १८, २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये एक जना भारतको महाराष्ट्र र ६ जना हरियाणाबाट आई खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको क्‍वारेन्टाइनमा बसेका गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए। उनीहरूको स्वाब जेठ २३ र २४ गते संकलन गरी परीक्षण लागि विराटनगर पठाइएको थियो।

त्यस्तै हल्दिबारीमा पुष्टि भएका दुई जना सङ्क्रमित भारतको आसाम र दिल्लीबाट आएका हुन्। संक्रतिममध्ये एक जना हल्दिबारी २ बस्ने ३१ वर्षीय र अर्को पाँचथर फिदिम ३ बस्ने २३ पुरुष रहेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

हल्दिबारीका पुरुष दिल्लीबाट र पाँचथरका पुरुष आसामबाट आएका उनले बताए। काँकडभिट्टा नाकाबाट स्वदेश फर्किएका उनीहरूलाई हल्दिबारी स्वास्थ्य चौकीको नयाँ भवनमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको थियो। क्‍वारेन्टाइनमा बसेका २८ जनाको स्वाब पिसिआर परीक्षणका लागि पठाइएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ।

त्यसैगरी मेचीनगर नगरपालिका पहिलो पटक भेटिएको कोरोना सङ्क्रमित भारतको दिल्लीबाट आएका हुन्। मेचीनगर ४ बस्ने २९ वर्षीय पुरुषमा कोरोना भेटिएको हो। एक साताअघि काँकडभिट्टा नाकाबाट स्वदेश घर फर्किएका उनलाई पशुपति माविको क्‍वारेन्टाइनमा राखिएको थियो।

यता जिल्लामा सबैभन्दा बढी दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा १ सय १३ जना कोरोना संक्रमित फेला परिसकेका छन्।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा १२ जनामा, भद्रपुर नगरपालिकामा तीन जना, अर्जुनधारा नगरपालिकामा दुई जना, गौरादह नगरपालिकामा तीन जना, दमकमा एक जना, झापा गाउँपालिकामा एक जना, बाह्रदशी गाउँपालिकामा चार जना, बुद्धशान्ति गाउँपालिकामा पाँच जना, कमल गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भइसकेको छ।

बिर्तामोड, शिवसताक्षी र कनकाई नगरपालिकामा अहिलेसम्म संक्रमण भेटिएको छैन। जिल्लामा पुष्टि भएका कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४८ पुगेको छ। त्यसमध्ये पाँचथरका दुई र ताप्लेजुङ तीन जना रहेका छन् ।