धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार स्वास्थ्य प्रोटोकलअनुसार उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि डिस्चार्ज दिइएको हो । डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेका छन् ।

भारतबाट फर्किएका उनीहरु दुई साताअघि कोरोना पुष्टि भएपछि उनीहरुलाई प्रतिष्ठानमा ल्याइएको थियो । प्रवक्ता सापकोटाका अनुसार अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको आइसोलेसनमा हालसम्म १ सय ८४ जना राखिएकोमा मंगलबार डिस्चार्ज गरिएकासहित ९९ जना निको भएर घर फर्केको प्रवक्ता सापकोटाले बताए ।

यसैबीच, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट मंगलबार नै झापाका ४ जना पनि डिस्चार्ज भएका छन् ।

कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट मंगलबार थप ६ जना संक्रमित निको भएर घर फर्किएका थिए । जसमा चार जना झापाका व्यक्ति हुन् ।

यस्तै, उदयपुरको भुल्केका १ जना, सोलुखुम्बुका १ जना डिस्चार्ज भएर घर फर्केको उपचार केन्द्रका इन्‍चार्ज डा दीपक सिग्देलले बताए ।

केन्द्रबाट हालसम्म ६३ जना संक्रमित निको भएर घर फर्केका छन् भने २३ जनाको उपचार भइरहेको छ ।