झापा । नेपालमा अहिलेसम्मकै सर्वाधिक ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा झापामा १३ जना थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा ७ जना र कोशी अञ्चल अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा ६ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

थपिएका १३ जनामध्ये ११ जना कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका र २ जना बाह्रदशी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्ति रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताउनुभयो । थपिएका सबै भारतबाट फर्किएका हुन् ।

झापामा योसहित १ सय ६९ संक्रमित पुगेका छन् । कचनकवलमा मात्र १ सय २४ जना संक्रमित पुगेका छन् । झापामा ९२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

आज पुष्टि भएका संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँमा रहेको कोभिड उपचार केन्द्र लाने तयारी भइरहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।