बिर्तामोड । अपरिचित ब्यक्तिलाई झट्ट विश्वास गर्दा धेरैको जिन्दगी नै बर्बाद भएका घटनाहरु सार्वजानिक भइरहेका बेला झापाको बिर्तामोडमा समेत यस्तै प्रकृतिको घटना सार्वजानिक भएको छ ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेको छ । लकडाउन भए पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ला रहेका छन् । यसैक्रममा जेठ २८ गते अर्जुनधारा–४ का ३६ वर्षीय अनुप भन्ने आईत सुब्बा पैसा निकाल्न बैंक आए । उनले आफूले निकालेको पैसा यति सजिलै अर्कैले चोरेर लैजान्छ भन्ने कल्पना समेत गरेका थिएनन् । तर, चोरका हजार दाउ भनेझैं उनलाई केही ब्यक्तिहरुले निगरानी गरिरहेका रहेछन् ।

उनी २८ गते घरबाट साइकलमा बिर्तामोडस्थित ग्लोबल बैंक आए, त्यसपछि उनले बैंकबाट नगद दुई लाख १२ हजार चार सय १८ रुपैयाँ पैसा निकालेर ब्यागमा राखे । त्यस लगत्तै घर हिँडेका आईतलाई नजिकै रहेका एक अपरिचित ब्यक्तिले आफू पनि घर हिँडेको र संगै जान प्रस्ताव गर्छन् ।

उनको प्रस्तावलाई सहजै स्वीकार गर्दै आईतले साइकलमा पछाडि राखेर घरतर्फ लाग्छन् । गर्मी मौसम भएकाले ती ब्यक्तिले चिसो पेय पदार्थ खान आग्रह गर्छन् । लगत्तै दुवै जान चिसो खाने भन्दै गर्दा आईतकै मोबाइलबाट उनले साथीलाई चिसो ल्याउन आग्रह गर्छन् ।

ती ब्यक्तिको आग्रह लगत्तै अर्का अपरीचित ब्यक्ति मोरटसाइकलमा आइ पुग्छन् । उनले चिसो नजिकै रहेको र मोटरसाइकलमा ल्याउन प्रस्ताव गरे । दुवै जान मोटरसाइकलमा चढेर चिसो लिन गएपछि आईतले शंका लागेर ब्याग चेक गर्दा ब्यागमा रहेको एक लाख ५० हजार रुपैंया नगद चोरी भएको पत्तो पाए । लगत्तै उनी इलाका प्रहरी कार्यालय अनारमनी पुगे । सबै घटना क्रम बताएपछि प्रहरीले चोरको खोजी शुरु ग¥र्यो ।

बैंकको सीसी टिभी फुटेजको आधारमा प्रहरीले शंकास्द स्थानमा निगरानी बढाएसंगै लुटपाटमा संलग्न झापाको अर्जुनधारा–११ का २४ वर्षीय मन्त चेम्जोङलाई बिर्तामोड–६ स्थित बुट्टाबारीमा मोटरसाइकल सहित पक्राउ थर्यो ।

त्यसलगत्तै बिर्तामोड–१० तेलकानीबाट अर्जुनधारा–११ कै ३१ वर्षीय मनकुमार बुढाथोकीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । उनले भने, फिल्मी शैलीमा लुटपाट भएको छ । अपरिचित ब्यक्तिलाई झट्ट विश्वास नगर्न डीएसपी रिजालले आग्रह गरे ।

लुटपाटमा संलग्न दुई ब्यक्तिबाट मे ४ प ३२५ नम्बरको कालो रंगको मोटरसाइकल, नगद ९० हजार रुपैंया, आईतको मोबाइल तथा सिम समेत बरामद गरेको डीएसपी रिजालले बताए । पछिल्लो समय विभिन्न बहाना बनाएर लुटपाट गर्नेहरु बढ्न सक्ने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

बिर्तामोडमा जडान गरिएको सीसी टिभीका कारण लुटपाट संलग्नको पहिचान गर्न सफल भएको र प्रहरीको सक्रियताका कारण लुटपाटमा संलग्नलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको डीएसपी रिजालले जानकारी दिए ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा अनुसन्धान जारी रहेको र उनीहरु यसअघि पनि विभिन्न घटनामा संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।