झापाको उत्तरी नगरपालिका अर्जुनधाराको क्वारेन्टाइन रहेको स्थल शनिश्चरे माध्यमिक बिध्यालयमा हरेक दिन बिभिन्न क्रियाकलापहरु देख्न पाइन्छ । नगरपालिकाको कोरोनामुक्त नगरपालिका बनाउने अभियानमा अर्जुनधारा नगरपालिका, यहाँ रहेका बिभिन्न संघसंस्था तथा ब्यक्तिहरु खटिइरहनुभएको छ । भारत तथा बिभिन्न खाडीका मुलुकहरुबाट आफ्नो रोजगारी गुमाएर तथा कतिपय त काम नपाएर धेरै समय बिदेशमा नै पीडित भएर नेपाल फर्कनुभएको ब्यक्तिहरु भएकाले बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म बिभिन्न क्रियाकलापहरु गराएर क्वारेन्टाइनमा बस्ने ब्यक्तिहरुको पीडा कम गरेर मनोबल उच्च बनाउन अहोरात्र खटिइरहनुभएको छ । यही कारणले क्वारेन्टाइनमा बस्ने ८० जनाभन्दा बढी खुसी देखिन्छन् भने आफ्नो रिपोर्ट नेगेटिभ आउनेमा बिस्वस्त छन् ।

क्वारेन्टाइनमा बस्ने अर्जुनधाराका केशव दाहाल प्रफुल्लित मुद्रामा भन्नुहुन्छ, ‘एकदम राम्रो छ हाम्रो ब्यवस्था र हिजो पिसिआर टेस्ट भयो, अब भोलि रिपोर्ट आउँछ नेगेटिभ आउने पक्का छ’ । त्यसैगरी युएइबाट आएका माधव तामाङ भन्छन्, ‘हामीलाई घरमा भन्दा धेरै सुबिधा दिइएको छ नगरपालिकासँगै स्थानीय संस्थाहरुबाट ।

तर, नेपालका बिभिन्न भागमा राम्रो छैन, खान पाइन्न भन्ने सुनिन्छ म त एकदम राम्रोसँग बसेको छु, खुसी छु यहाँको हरेक क्रियाकलापदेखि । तर, रिपोर्ट आएपछि गाउँ जाँदा भने कस्तो ब्यवहार पाइने हो भनेर चिन्ता ब्यक्त गरे तामाङले । उनको रिपोर्ट नेगेटिभ आएको छ । तर, दुःख लाग्दो कुरा, उनी घर फर्कन पाएनन् । सँगै बसेका साथीको रिपोर्ट पोजेटिभ आएपछि पुनः स्वास्थ्य परीक्षणका लागि उनलाई पनि होल्ड गरिएको छ ।

त्यसैगरी मलेसियाबाट आएका सिद्धान्त भट्टराई भन्छन्, ‘बरु मलेसियामा भोकै बसियो होला, धेरै दुःख पाइयो होला तर यहाँ त केही कुराको कमी नै नभएजस्तो लागेको छ । उनी हरेक क्रियाकलापप्रति खुसी ब्यक्त गर्छन् ।

गरीव देश नेपाल त्यसमा पनि महामारीको यस्तो कहरमा बिदेशकै जस्तो सुबिधा सम्पन्न त सम्भव नहोला र हुन्न पनि । तर, पनि यस अर्जुनधारा नगरपालिकाको स्थानीय क्वारेन्टिन शनिश्चरे माबिमा धेरै क्रियाकलापहरु हरेक दिन हुन्छन् । नेपाल सरकारले उद्दार गरेर ल्याएका नागरिकहरु खुसी र प्रफुल्लित नै देखिएका छन् । यसैको कारण हो रिपोर्ट नेगेटिभ आउँदै बिदाइ हुने क्रम पनि बढ्दो छ र नयाँ व्यक्ति आउने क्रम पनि जारी नै छ ।

बिहानको ६ बजे सबैलाई उठाइन्छ र सबैको ज्वरो नापिन्छ । सामान्य कसरत गराएर चिया नास्ता गराइन्छ भने बिहान १० बजे खाना आउँछ । खाना खाएर सबै आराम गर्छन् र दिउँसो १२ बजे फेरि ज्वरो नापिन्छ । त्यसपछि २ बजे फेरि नास्ता आउँछ । ५ बजेदेखि बेलुकाको क्रियाकलाप सुरु हुन्छ ।

योग गुरु डा रमेश पोख्रेलज्यु बाट सबै क्वारेन्टाइनमा बस्नेलाई बिभिन्न नैतिक शिक्षा अनि रोचक प्रसंग र शरीरलाई अति आवश्यक पर्ने योगका आसनहरु गराउनुहुन्छ । सबैलाई प्रफुल्लित अनि फ्रेश बनाएर वहाँ जानुहुन्छ ।

यसअघि राष्ट्रिय रेफ्री श्याम दनुवारज्यु ले पनि पिटी खेलाएर क्वारेन्टिनका सबैको मनोबल बढाउनु भएको थियो भने भ्वाइस अफ नेपालका बिकास लिम्बूले पनि आफ्नो प्रस्तुति दिएर सबैलाई खुसी दिलाएका थिए । योग अभ्यास सकिएपछि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले नृत्य लगायतका क्रियाकलाप गराएर सबैको मन हर्षित बनाउने काममा मद्दत पुर्याइरहनुभएको छ ।

त्यस्तै, यस अर्जुनधारा नगरपालिकाका समाजसेवी तथा अभियन्ता कमल पोख्रेल, भरत यादव तथा विष्णु आचार्यलगायत सम्पूर्णले हरेक दिन आएर हौसला दिने, प्रोत्साहन दिने काम गरिरहनुभएको छ ।

नगरपालिकाको साथ साथै स्थानीय समाजसेवीहरुले कहिले खिर खुवाउने, महिलाको लागि प्याड बितरण गर्ने, कसैले मास्क बितरण गर्ने, कसैले खाजा (मःम र चाउमिन) खुवाउने लगायत असार १५ को दिन पहिलो पाइलाले सबै क्वारेन्टिनमा बस्नेलाई दही चिउरा खुवाएको क्षण स्मरणीय बनेको छ ।

अर्जुनधारा नगरपालिकाको कोभिड संक्रमण शून्य बनाउने लक्ष्य पूरा गर्न नगरपालिकामात्र नभएर यस अर्जुनधाराका स्थानीय, समाजसेवी, ब्यापारी, सञ्चारकर्मी सबै लागिपरेको अवस्थामा यसरी नै अगाडि बढ्ने हो भने अवश्य पूरा हुनेछ ।

यस्तै सेवा सुबिधा प्रदान भइरहोस् र यसरी अर्जुनधारा नगरपालिकाको शनिश्चरेस्थित क्वारेन्टाइन नेपालकै नमुना बनोस् । यसका लागि नगर प्रमुखलाई धेरै धन्यवाद साथै सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत क्वारेन्टाइन ब्यवस्थापनमा खटिइनुहुने सबैमा धेरै धन्यवाद ।

 

रमेश बुढाथोकी
शनिश्चरे क्वारेन्टिन, (अर्जुनधारा) झापा