शनिश्चरे । ३८औं वीपी कोइराला स्मृति दिवसको सन्दर्भमा नेपाली काँग्रेस प्रदेश समिति क्षेत्र नम्बर २ ले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा–८ स्थित शनिश्चरे बजारको ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजको चौतारीमा समितिका सभापति किरण श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेको सभापति श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री सरीता प्रसाईं, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले वीपी कोइरालाको योगदानबारे चर्चा गरेका थिए ।

नेपाली काँग्रेस नगर सभापति हेमराज खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य शेखर वनले गरेका थिए ।