काठमाडौँ । असनका एक पुरुष र महिलालाई शुक्रबार कोरोना संक्रमण देखियो । महिला १९ दिनअघि भारतको सीतामढीबाट काठमाडौं फर्किएकी थिइन् । परिवारसँग घुलमिल भइन् । असनमा उनीहरूको पसल छ । परिवारका सदस्यमध्ये दिदी र भाइलाई कोरोनाको लक्षण (ज्वरो, सुक्खा खोकी र सास फेर्न गाह्रो हुने) देखिएपछि पीसीआर परीक्षण गराउन गए । नतिजा पोजिटिभ देखियो ।

उनीहरूसहित शुक्रबार काठमाडौं उपत्यकामा १६ जनालाई संक्रमण देखिएको थियो । यसमध्ये ती दिदीभाइसहित नौ जनालाई लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमप्रसाद कोइरालाले बताए ।

कोइरालाका अनुसार बिहीबार पनि १० जनामध्ये २ जनामा लक्षण देखिएको थियो । एक जना कालीमाटीमा तरकारी पसल गर्ने पुरुष हुन् । उनी पनि भारतबाट फर्केका हुन् । त्यस्तै, बाराका एक स्वास्थ्यकर्मीलाई ज्वरो देखिएपछि उपचारका क्रममा काठमाडौं आए, परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । श्रीमतीको स्वाब परीक्षण गर्दा उनलाई पनि कोरोना देखिएको छ । दुवैमा कोरोनाको लक्षण पाइएको छ ।

लक्षण देखिएका संक्रमितमध्ये ललितपुर थसिखेलका आमाछोरा पनि छन् । केही दिनअघि वीरगन्जबाट उपचारका लागि आएका उनीहरूमा संक्रमण देखिएको हो । ‘आमालाई गाह्रो भएपछि उपचार गर्न काठमाडौं आएका रहेछन् । परीक्षण गर्दा पोजिटिभ देखिएपछि आइसोलेसनमा उपचार गरिरहेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उनीहरूमा कोरोनाको लक्षण छ ।’

ट्राभल हिस्ट्री नै नभएका संक्रमितमा पनि पछिल्लो समय लक्षणसहितको संक्रमण देखिन थालेको चिकित्सकहरू बताउँछन् । ‘कोरोनाले थलिएका एक जना गम्भीर हुनुहुन्छ । आईसीयूमा राखेर उपचार गरिरहेका छौं,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्तपालका निर्देशक डा सागर राजभण्डारीले भने, ‘पछिल्लो समय जति पनि संक्रमित देखिएका छन्, प्रायः लक्षण भएका छन् । यो खतराको संकेत हो ।’

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले असार अन्तिमसम्म ९० प्रतिशत संक्रमितमा लक्षणबिनाको संक्रमण देखिए पनि अहिलेको अवस्था अलि गम्भीर भएको बताए । ‘काठमाडौं उपत्यकामा साउनको कुनै दिन त संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढीमा लक्षण पाइएको छ,’ उनले भने, ‘लकडाउन खुकुलो भएसँगै उपत्यकाबाहिरबाट आएका सर्वसाधारणमा लक्षणसहितको संक्रमण देखिएको हो ।’

ईडीसीडीका अनुसार असार २२ मा उपत्यकाका स्थानीय ५४ सहित ९१ जनामा संक्रमण देखिएको थियो । जसमध्ये ५ जनालाई मात्रै लक्षण देखिएको थियो । त्यस्तै, २३ गते उपत्यकामा ४४ जना संक्रमित देखिएकोमा २ जनालाई लक्षण देखिएको थियो । एक जनालाई घाँटीको समस्या र एक जनालाई ज्वरो थियो । २५ गते ४८ जना संक्रमित देखिएकोमा एक जनालाई छाती दुख्ने, एक जनालाई टाउको दुख्ने, एक जनालाई घाँटी दुख्ने समस्या थियो । अन्य संक्रमितको अवस्था सामान्य थियो ।

असार ३० मा ७ संक्रमितमध्ये एक जनालाई मात्रै ज्वरो देखिएको थियो । असार ३१ मा ९ संक्रमितमध्ये कसैलाई पनि केही समस्या नभएको ईडीसीडीको कन्ट्याक ट्रेसिङ टिमलाई जानकारी दिइएको थियो । तर, साउन लागेपछि भने उपत्यकामा संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढीलाई लक्षण देखिएको छ । शुक्रबार भेटिएका १६ संक्रमितमध्ये ९ जनामा लक्षण देखिएको छ ।

सरकारले लकडाउन खुलाउने निर्णय सार्वजनिक भएकै दिन असार ६ मा १५ जनामा कोरोना देखिएकोमा ५ जनामा लक्षण पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ४ सय ९ संक्रमितमध्ये २ सय २८ जना सक्रिय संक्रमित छन् ।

असार २२ मा उपत्यकामा सबैभन्दा बढी ९१ जनामा संक्रमण देखिएको थियो । असार २५ मा ४८ संक्रमित देखिए । ‘असारसम्म त लक्षण हुने संक्रमित १० प्रतिशत पनि हुँदैनथे,’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘साउनदेखि संक्रमितको संख्या त घट्यो तर धेरैजसोमा लक्षण भेटियो ।’

सरकारले घरमै आइसोलेसनमा बस्ने व्यवस्थाले उपत्यकामा समस्या थपिएको ईडीसीडीको निष्कर्ष छ । ‘घरमै बस्ने स्वास्थ्यकर्मीको सम्पर्कमा हुँदैनन् । कहिले बाहिर घुमिरहेका हुन्छन्,’ उनले भने, ‘कहिले अस्पतालमा परीक्षण गर्न गइरहेका हुन्छन् ।’ कान्तिपुरबाट