विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

अध्यक्षमाथि खुकुरी प्रहार गर्ने केराबारी–१० का ३४ वर्षीय भाले भनेर चिनिने भवन ठकुरीलाई अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालासले मंगलबार ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

आदेशपछि ठकुरी कारागार चलान भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

पटके करको ठेक्का नपाएको झोँकमा ठकुरीले २ साउनमा गाउँपालिकाको कार्यालयभित्रै अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।