झापा । कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण झापा जिल्लाका मौरीपालक किसानले करिब अढाई करोड रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ। महामारीपछि सरकारले लगाएको लकडाउनमा किसानहरूले सिजनको बेला मौरीको हेरचाह गर्न र मह काड्न नपाउँदा व्यावसायिक मौरीपालनमा लागेका उनीहरूले नोक्सानी बेहोर्नु परेको हो।

महको मुख्य उत्पादनको सिजन फागुनदेखि वैशाखसम्म हो । कृषकले तीन महिनाको अवधिमा दुई पटकसम्म मह काड्नुपर्ने हुन्छ। तर, मह उत्पादनको मुख्य सिजनमै लकडाउन भयो। जसका कारण कृषक चरनमा लगिएका मौरी राखेको स्थानसम्म पनि जान पाएनन्। लगिएका मौरीको निरीक्षण तथा मह काड्न नपाउँदा सिजनकै बेला ठूलो घाटा बेहोर्नु परेको मौरीपालक किसान धनमाया पाठकले बताइन्।

‘अन्य सिजनहरूमा समयमै मौरीको हेरचाह, निरीक्षणसँगै मह काड्न पाउँदा राम्रो आम्दानी गरिन्थ्यो’, मौरीपालक किसान सन्तकुमारी सुनुवार मुखियाले भनिन्, ‘तर यस वर्ष फाइदा त के लगानी उठाउनै समस्या भयो। लकडाउनका बेला तीनै तहका सरकारले व्यावसायिक कृषि पेशामा लागेका किसानका लागि केही योजना ल्याएको भए यस्तो समस्या हुने थिएन।’

महका लागि नमुना जिल्ला मानिएको झापामा मह उत्पादन घट्दा जिल्लाका किसानलाई दुई करोड ५० लाख रुपैयाँभन्दा बढी घाटा भएको नेपाल मौरीपालक महासंघका उपाध्यक्ष देवी दाहालले बताए।

उपाध्यक्ष दाहालका अनुसार झापा यस वर्ष अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले मह उत्पादनमा कमी आएको छ। गत वर्ष ६० हजार किलो मह उत्पादन भएकोमा यस वर्ष घटेर २० हजार किलो उत्पादन भएको छ।

झापाको अर्जुनधारा, बिर्तामोड, कनकाई, बुद्धशान्ति, शिवसताक्षीलगायतका स्थानीय तहका गरी १२ सयभन्दा बढी किसानले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन्। यस क्षेत्रमा मेलीफेरा र सेरेना जातका २० हजार ५३० भन्दा बढी मौरीका घार रहेको छ। यहाँ उत्पादित मह प्रदेशका विभिन्न जिल्लासहित नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौँलगायत सहरमा बिक्री हुने बताइएको छ। थाहा खबरबाट