मरनच्यासे अनुहार लगाएर बस्नु परेको छ। के गर्नु! समाचार सुनेदेखि शोकमा परेको! आफ्नैले धोका दिएपछि कसको के लाग्छ र ! नेपालीलाई ‘सपना देखाउने राजानेता’ भनेर सबैलाइ दुईतिहाइको छाती देखाउँदै हिजोसम्म हिँडेको मान्छे, आज हन्ड्रेडको स्पिडमा छुटेको रेल लिकबाट लर्खराउँदै खेतमा धसारिएको जस्तो भएको छ।

कम्रेड अभिवादन ! गाउँघरका ती श्रमिकको बिश्वास र आस्था सहितको यो सम्मान आज ‘बतासे’ जस्तो भएको छ। उफ… लामो सुस्केरा लिएर यो मनलाई जति नै शान्त बनाउन खोजे पनि मान्ने पक्षमा छैन।

कम्रेड बर्बाद भैयो! अब के हुन्छ ? हामी के गर्ने कम्रेड ? भन्नु न कम्रेड ? हामी यताका कि उताका ? कानमा झ्याउकिरीझैँ कराइरहन्छ। अबोध कम्रेडका ति सरल प्रश्नै प्रश्नले मन उद्वेलित हुन्छ। के गरुम्, के भनुम् हुन्छ। कम्रेडका प्रश्नै प्रश्नले हैरान भएको ‘म’ (नेकपा) (लेखक हैन नि) आज यताको कि उताको भएको छु ? अंशबण्डामा परेका त परे परे, उतै यतै रमाउँलान्, भागमा न परेका ‘म’ (नेकपा)जस्ताले के सोच्दा हुन्। बित्यास परेको छ। चिन्ता थपिएकोछ।

त्यसमाथि हिजोसम्म घाँटी जोडेर सुतेको कम्रेड आज मुर्दाबाद भएको छ। उ म असली भन्छ, अर्को म असली भन्छ। असली र नक्कली! को चक्करमा कम्रेडहरु घनचक्कर भएका छन् । एकले अर्कालाई गाली र ताली दुबै दिएका छ्न् । उ आफ्नो, त्यो अर्काको अरे! हा…हा…हा…। थुक! कम्रेड आकाशमा थुक । तिम्रा बुद्धिले भ्याएसम्म थुक! हा…हा…हा… थुक! हा…हा…हा… थुक! कम्रेड! आखिर नांङ्गिने तिमी नै हौ । जनता होइनन् ।

कम्रेड ! जनताले गर्नुसम्म गरेका हुन्, तिम्रा लागी तर कम्रेड ! आफैँले आफ्नैलाई एक आपसमा धोका दिएको त हो नि ! जनताको त कुलमान घिसिङ थिए। त्यसैले पुनः नियुक्ति पाएनन् । जाबो यति सानो नियुक्तिमा त खल्तीको चिटकटले काम गरेको थियो कम्रेड ! हो, त्यतिबेला आजको जस्तो सडकमा निक्लनु पथ्र्यो। तर, तै चुप मै चुप ! कसो कम्रेड !

स्वाभिमान र आत्म सम्मानका साथ भनौँ त कम्रेड तपाइँको मन रोएको छैन र! मन बिचलित भएको छैन र! समाचारले तपाइँलाई कस्तो बनाइदियो। तपाइँको मस्तिष्कमा भूकम्प गएको अनुभूति भयो कि भएन कम्रेड ?

कम्रेड, कसैको घर भत्किँदा छिमेकी रुनु पर्छ, रमाउने जति त शत्रु भइहाले नि ! हैन र ! आज कम्रेडको घर बिग्रिएको छ, चिन्ता सबैलाई छ। यो घर बिग्रियो भने देश र जनतालाई नोक्सान हुन्छ। राजनीतिक नोक्सान देशको लागि घातक हुन्छ । त्यसैले कम्रेडजस्तै सबै चिन्तित छन् । शोकमा छन् । तर, तपाइँ आज पनि उताको र यताको भाग लगाउँदै हुनुहुन्छ ।

पुनः उता र यताको राजनीति गर्दै हुनुहुन्छ । यसले बिस्तारै उही यता र उताको अंशबण्डाको काम गर्दैन र कम्रेड ! यसले कसैको हित गर्दैन, तपाई जति अरु को जानकार छ र ! अनि तपाइँको यो एक अर्काप्रतिको रोइलो किन त कम्रेड । सहिदले सोध्दैछ्न् ।

सपनामा सहिद आउँदै जाँदै गर्छन्, मेरो सहादतको मुल्य के हो ? कम्रेड भन्छन् । निस्पष्ट अधेंरोमा पनि रगत्याम्य भएको त्यो शरीर सुक्क सुक्क गर्दै गरेको आवाजले भन्दैछ… कम्रेड हामीलाई स्वर्गमा पनि आशु झार्दै फेरि मारेर छाड्ने भयौ । हामीले त देशको लागि बलिदान दिएका थियौँ, तर हाम्रो बलिदानलाई भागवण्डामा बाँडिदियौ । हिजो तिम्रो आदेशमा सहिद भएका हामीहरुलाई भन्देउ कम्रेड ! ‘हामी यताका कि उताका’ । अस्तु

– भद्रपुर ७, झापा