उ आयो सबैतिर खुशियाली छाउने ।
उ गयो… कस्तो बिस्मात मान्नुपर्ने !

हजुर आउने जानेक्रम सबैतिर छ । फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर जहाँ पनि यसैको गुनासो छ । अनलाइन खबर, अखबारमा समेत चर्चामा आएपछि राष्ट्रियहुँदै अन्तर्राष्ट्रियस्तरमा समेत यसले ठाउँ पाउँदैछ ।

हैन, हामीले जहिल्यै पनि यस्तै भोग्नु पर्ने ? यो कस्तो चाला हो ? अब त झन जान्छ भन्न पो थालेछन् ।

यो जुनीमा उज्यालोमा बस्न पनि नपाइने भो प्रभु (बिद्युत् प्राधिकरण) लौ न केही त गरी दिन परो! अबोध, निश्चल ति सर्वसाधारण जनता प्रायः दैनिक यसै भन्छन् । उता प्रभु ‘फोर्स लोडसेडिङ’ गर्ने आशीर्वाद जनतालाई दिने योजनाको तानाबानामा मस्त हुनुहुन्छ, पहिले पनि यो आशीर्वाद जनताले पाउँदै आएका थिए रे, -प्रभु आफैले समाचारमा भन्दै हुनुहुन्थ्यो।

महाप्रभु र शिवजीका चरण कमलमा भेटीसहित साष्टाङ्ग दण्डवत नगर्ने हो भने यो ‘फोर्स लोडसेटिङ’ हट्ने थियो रे । जानकारहरुको चिया गफमा यस्तै यस्तै सुनिन्थ्यो ! यो ‘ग्राइण्ड डिजाइन’ हो, बुझ्नु भो -निक्कै जान्ने हुं भन्नेले थपो ! तलाइ के थाहा प्राबिधिक कुरो ! मुला गोरुगाडा चलाउनेको यत्रो बुद्धि ‘ग्राइण्ड डिजाइन’ अर्को चतुर्‍याइँ बहादुरले थपो। नथपोस् पनि कसरी उ पनि त महाप्रभु र शिवजीकै भक्त थियो नि ! तलाइ थाहा छ ? ‘ग्राइण्ड डिजाइन’ भनेको केहो ? उ रन्कियो।

हुं… अं, मुख बन्द पारेर लामो सास नाकले फाल्दै गोरुगाडाको उपाधि पाएकोले प्रतिकार गरो- त मात्रै जान्ने, खुब नेता हुं भन्दोहोस, उ यो मिस्त्रीलाई सोध न ? यसले पनि भन्दिन्छ हौ ‘ग्राइण्ड डिजाइन’ भनेको । चतुर्‍याइँ बहादुरले रिसले रन्थनिदै मिस्त्रीतिर मुन्टो घुमायो !

‘मिली-मिली तात्तातो खाउ रातो भाले’ -मिस्त्रीको मुखबाट फ्याट्टै निस्क्यो ! सबै गल्ल्ल्ल्ल हांसे । यो हाँसोको बीचमा आत्था..को आवाज आयो, सबैले चिया पसलेतिर नजर लगाए, बिचराले हाँस्ता-हाँस्तै सीसाको गिलासमा चिया खन्याएको हातमा पारेछ । निक्कै पोलो कान्छा ? मिस्त्रीले सहानुभूति राखो ! तेरो रातो भालेले मारिहालो नि, ठुले !

मिस्त्रीको जवाफले, बिचरो ! चतुर्‍याइँ बहादुर चुपलागो ।
अब बुझिस्, होला नि ! अर्कोले थपो ।

प्रभु, महाप्रभु र शिवजीका घर घरमा इन्भटरवाला, सोलारवाला र एक्स्ट्रा बिजुली चाहिने वाला नै वाला धाउने गरेको इतिहास थाहा छैन र ! नत्र तेरो मेरो (जनता) मान्छे अहिले हुँदो हो त यो हालतमा हामी बस्नु पर्थ्यो त ! चतुरे !! कुरा बुझ्न बाबु ! खाली नेतामात्र हुन नखोज्न।

आफन्त, नातागोताले दुःख नपाउन् भनेर सबैलाई जोहो गर्देको अरे ! अनि आगामी आउने कुनि के कार्यक्रममा जनता रिसाएर ! माया नगर्ने हुन कि भन्ने डरले मासु र भात खुवाएर भए पनि माया गर्न बाध्य पार्ने अरे ! सबै तेसै भन्छन् ! मैले अनलाइन समाचारको कमेन्टमा पढेको अर्को पुरानो एसएलसी फेलले थपो।

यो गफ कहाँ चलेको छैन, चलिरहन्छ, निरन्तर निरन्तररुपमा । चोक चोकमा, गल्ली गल्लीमा, गाउँ गाउँमा, शहर शहरमा यत्रतत्र सर्वत्र चलिरहन्छ । प्रभु, महाप्रभु र शिवजीबाट अहिलेको यो आउने जाने क्रम हटाएर घरघरमा उज्यालो हुने आशीर्वाद नपाउन्जेल यि गफाडी गफ गरिरहन्छन् निरन्तर ! निरन्तर !! निरन्तर !!!
भद्रपुर-७, झापा