भद्रपुर । सरुवा भएर जान लागेका झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलव्धिहरु सार्वजनिक गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापामा आज विहान पत्रकारहरुसँगको अन्तरक्रियामा उनले गत वर्षको पुष ९ देखि यस वर्षको पुष २५ सम्मका गतिविधिहरुको विवरण सार्वजनिक गरेका हुन् । उनी गत वर्षको पुष ५ गते जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आइपुगेका थिए ।

उनको कार्यकालमा अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरीलाई ठूलो सफलता मिलेको देखिएको छ । कर्तव्य ज्यान लिएर १४ वर्षदेखि फरार रहेका मेचीनगर ५ का बौदल लाम्गादे विक भन्ने पुन्यप्रसाद विश्वकर्मा पक्राउ परेका छन् भने कर्तव्य ज्यान मुद्धामा १७ वर्षदेखि फरार दुर्गाबहादुर थापा पनि पक्राउ परेका छन् ।

त्यस्तै चारपानेमा गुप्ताङ्ग काटेर आगो लगाई एकजना पुरुषको जघन्य हत्या गर्ने करण चौधरी र लक्ष्मण यादव पक्राउ परेको, शिवसताक्षी ११ बस्ने गोमनसिंह मगरलाई हत्या गर्ने मनकुमार लिम्बू पक्राउ परेको, कन्काई ३ बस्ने अभिषेक चौधरीलाई बन्चरो हानी हत्या गर्ने टुल्के भन्ने रविन राजवंशी उनकै कार्यकालमा पक्राउ परे ।

यसैगरी, आफ्नी श्रीमतीलाई हत्या गर्ने गौरादहका भीमबहादुर भण्डारी पक्राउ परेको, बैकिङ्ग कसुरमा २ महिना कैद र १ करोड १५ लाख विगो ठहरिएका कनकाई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाईलाई पक्राउ गरेको, लाखौं ठगी गर्ने राजकुमार राउतलाई पक्राउ गरेको घटनालाई महत्वपूर्ण सफलताको रुपमा लिएको उनले बताए ।

फैसला कार्यान्वयनतर्फ आर्थिक वर्ष २०७६/०७७ को पुषदेखि हालसम्म ९९ जना पक्राउ परेको, १२२ वर्ष १ महिना २३ दिन कैद र १ करोड ७८ लाख ३७ हजार ८१५ रुपैयाँ जरिवाना असुल भएको छ । प्रहरी उपरीक्षक कोइरालाले आफ्नो एक वर्षको कार्यकालमा भन्सार छली , चोरी तस्करी नियन्त्रणको क्षेत्रमा पनि उल्लेखनीय कार्य भएको भन्दै बरामद भएका सामानहरुबाट ५ करोड ६३ लाख १३ हजार ५४२ रुपैयाँ राजश्व दाखिला भएको बताए ।

उनले चाडपर्वको समयमा २१ लाख ५० हजार ४४० रुपैयाँ बराबरको पटका, आतिशवाजीलगायतका विष्फोटक पदार्थ बरामद गरी नष्ट गरिएको जानकारी दिए । त्यस्तै ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक सचेतना, होर्डिङ बोर्ड, सांकेतिक चिन्ह, जेब्रा क्रसिङ निर्माणजस्ता कार्यक्रम गरिएको भन्दै ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट ३ करोड ५१ लाख ९८ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको जानकारी दिए ।

त्यसैगरी प्राकृतिक स्रोतसाधन दोहन नियन्त्रण, अवैध काठ नियन्त्रणतर्फ पनि धेरै काम भएको देखिएको छ । प्रहरी उपरीक्षक कोइराला झापाबाट सरुवा भएर महानगरीय अपराध महाशाखा काठमाडौं जान लागेका हुन् । उनले सबैको सहयोग र सहकार्यमा प्रहरीले अपराध नियन्त्रण गर्नसक्ने धारणा राखेका थिए ।