0 Shares

झापा । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो ।

जितसँगै समूह ुबीु को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ । नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

तस्वीरहरूः कुवेत फुटबल एशाेसिएसन