झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको २० लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले इलामको सुर्योदय नगरपालिका १० का मृतक संजोग प्रधानको परिवारलाई सो रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले सोमबार मृतक प्रधानको घरमै एक कार्यक्रमको आयोजना गरि निजकी श्रीमती कन्चन कार्कीलाई रकम भुक्तानी गरेको युनियन लाइफका सहायक महाप्रबन्धक तथा १ नम्बर प्रदेश प्रमुख भुपराज पराजुलीले जानकारी दिए । २५ बर्षीय प्रधानको गत असार १४ गते कोरोना संक्रमणबाट मृत्यु भएको कम्पनीले जनाएको छ ।

प्रधानले पाँच महिनाअघि मात्र कम्पनीमा २० लाख रुपैयाँको बिमा गरेको र पहिलो प्रिमियम बापत १ लाख ८०० रुपैयाँ बुझाएको कम्पनीका सुरुङ्गा शाखा प्रमुख नारायण थापाले जानकारी दिए ।

रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको दुई हप्ताभित्रैमा कम्पनीले रकम उपलब्ध गराएको र बिपत्तिको समयमा आर्थिक दायित्व पूरा गरेको भन्दै मृतककी श्रीमती कार्कीले खुशी ब्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिइन् ।

बिमा कम्पनीले भुक्तानी समयमा गर्दैन भन्ने बुझाईलाई युनियनले झुटो साबित गरेको भन्दै नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कम्पनीलाई विशेष धन्यवाद दिइएक थिइन् ।