काठमाण्डौ । निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।

गएको वैशाखको पहिलो हप्ताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्य समेत बढेको छ । निषेधाज्ञाका समयमा तीन हप्ता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा ७० रुपैयाँ पुगेको छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उहाँले भन्नुभयो,’निषेधाज्ञाका समयमा तीन हप्ता हामीले चल्ला बेच्न सकेनौँ।’

गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यका आधारमा बेच्नसमेत मुस्किल परेको उहाँको भनाइ छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा ५६ रुपैयाँ पर्दछ । एक हप्तामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।

लेयर्स चल्ला भने पुर्याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन । लेयर्स प्रतिवटा १७० रुपैयाँमा बिक्री भइरहेको छ । देशभरमा ३४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उहाँको भनाइ छ ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउनुहुन्छ । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासायी बन्दै जानसक्ने उहाँको चिन्ता छ ।

आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट ९३० वटाको० ३८५ रुपैयाँ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट अहिलेसम्मकै उच्च हो ।