बिर्तामोड । उद्योगी व्यवसायीहरूको टोलीले तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर खोपमा व्यवसायीलाई प्राथमिकता दिन माग गरेको हो ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीहरुलाई प्राथमिकतामा राखेर सरकारले खोप अभियान सञ्चालन गर्न आनाकानी गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल नेतृत्वको टोलीले तत्काल व्यवसायीहरुले खोप पाउनुपर्ने माग प्रमुख जिल्ला अधिकारी समक्ष राखेको थियो ।

यसैबीच, बिर्तामोड उद्योग वाणिज्य संघले कोरोना खोप लुकाइएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । बिर्तामोडमा शनिबार पत्रकार सम्मेलन गर्दै संघले त्यस्तो माग गरेको हो ।