डा देवी क्षेत्री दुलाल,
धेरै पहिले भइसक्नु पर्ने काम अहिलेसम्म पनि प्रदेश नम्बर १ को नामाकरण भएको छैन । यो नेतृत्वको असक्षमता बाहेक अरु केही होइन । जनस्तरबाट आफ्नो प्रदेशको नामाकरण यथासक्य छिटो होस् भन्ने चाहना विभिन्न सञ्चारमाध्यममा अभिब्यक्त भइरहेका छन् । यसलाइ जनताले सरकारलाई सघाएर आफ्नो कर्तब्य पूरा गरेको अर्थमा बुझ्नुपर्छ ।
सातवटा प्रदेशमध्ये पाँचवटा प्रदेशको नाम र राजधानीको टुङ्गो लागेर आवश्यक काम समेत प्रारम्भ भइरहेका छन् । प्रदेश १ ले राजधानी विराटनगरलाई तोकेर प्रदेशको नामाकरण थाँती राखेको पनि धेरै भइसक्यो । प्रदेश २ ले आफ्नो प्रदेश र राजधानीबारे कुनै काम गर्न सकेको छैन । अहिले आएर प्रदेश मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण सम्बन्धमा विभिन्न रजनीतिक दलसँग सहमति खोजी गरिरहनुभएको भन्ने चर्चा आएको छ । यो प्रदेश संसद र सरकारको अत्यावश्यक विजिनिस हो । यसलाई अभिलम्ब सम्पन्न गरिनुपर्छ । अगे संसद र सरकारको नियमित आयु काउन्ट डाउन सुरु भैसक्यो, चेतना होस् ।
मुलतः प्रदेश नं. १ को नाम कोशीकिरात, लिम्बूवान, खम्बूवान, किरात, कोसी, सप्तकोशी, सगरमाथा, मेची, कन्चनजङ्गा, विराट आदिमध्ये कुनै एक हुनपर्छ भन्ने जनमाग उठिरहेको देखिन्छ । कसै कसैले अङ्कलाई आधार मानेर १ नं प्रदेश भए पनि हुन्छ भनिरहेका छन् । यस सन्दर्भमा म एकजना राजनीति शास्त्रको विधार्थी हुनुको नाताले प्रदेश नं. १ को नाम कोशीकिरात वा सगरमाथा हुनुपर्छ भनिरहेको छु, किन ?
किन भने,
१. हाम्रो प्रदेश जातीय, धार्मिक, भाषिक र साँस्कृतिक विविधतायुक्त छ । यसमध्ये कुनै एकको बहुमत छैन, आंशिक बहुलता मात्र छ । मुलतः किरातहरुको ऐतिहासिक थाँतथलो हो, त्यसमध्ये पनि राई, लिम्बु र लेप्चाको आदि थलो हो । यो ऐतिहासिक तथ्यलाई सबैले सगर्व स्वीकार्नु पर्छ ।
समाज विकासको क्रममा सदियौं पहिलेदेखि अन्य विभिन्न जातजाति यो क्षेत्रमा आएर आपसमा मिलेर बसिरहेका छन्, त्यसैको निरन्तरता र सम्मुन्नत परिणाम हो आजको सप्तरङ्गी सुन्दर नेपाली समाज ।
२. भौगालिक दृष्टिमा पनि हिमाल, पहाड र तराइ मिलेर बनेको छ । संसारकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो भाग कचनकवल पनि यसै क्षेत्रमा पर्छ । जलप्रवाहका दृष्टिले पनि सम्मुन्नत छ, सातवटा कोशी यहीं बग्छन् ।
३. सभ्यताका दृष्टिले किरात र आर्य सभ्यता मुख्य छन् । त्यसमा पनि किरात सभ्यता सर्वाधिक महत्वपूर्ण छ ।
यसर्थ, राजनीति शास्त्रका विविध जारगन जति फूलबु्ट्टा भरेर शब्द खेलाए पनि प्रदेश नामाकरणका मुल आधार यिनै हुन् । यिनै आधारभित्रबाट हामीले हाम्रो प्रदेशको सके सर्वस्वीकार्य नभए अधिक स्वीकार्य नाम खोज्नपर्छ । परदेशको नक्कल गरेर होइन, घरदेशको धरातलीय यथार्थभित्रैबाट हामीले हाम्रो प्रदेशको नामाकरण गरौं ।
सप्तकोशी नदीको समुच्चतमा ऐतिहासिक किरात सभ्यतालाई जोडेर पहिलो प्राथमिकतामा कोशीकिरात नामाकरण गरौं । र, त्यो नभए दोश्रो प्राथमिकतामा भूगोललाई आधार मानेर सगरमाथा नामाकरण गरौं । यसो गर्दा सबैको समान अपनत्व, सम्मान र सम्योजन हुन्छ । आफूले भनेको मात्र ठीक अरुले भनेको बेठीक भन्ने हाम्रो मनोरोगलाई सबैले त्यागौं ।
सबै जिम्मेवार राजनीतिक पार्टी जात, गोत्र, नाक, जनै, जाँड, क्षेत्र र धर्मको दायराबाट माथि उठेर राजनीतिक दर्शन र सिद्धान्तको आलोकमा अघि बढौं । सबैभन्दा पहिले मान्छे हौँ भन्ने सोचौं, त्यसपछि नेपाली अनिमात्र तपसिलका जातजाति हौं भनौ। यो नै हाम्रो शक्ति, सौंन्दर्य, एकता र समस्या समाधानको साझा सूत्र हो ।