रोहित काफ्ले,
झापा । झापाको भद्रपुर सीमा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको करिब साँढे चार लाख रुपैयाँ मूल्य बराबरको कपडा बरामद गरेको छ ।

झापामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी छ । तर, यसैबीच पनि सीमा नाकाबाट अवैधरुपमा चोरी पैठारी भइरहेको यसले पुष्टि गर्छ । गाउँघरमा अनावश्यक हिँडडुल निषेध गरिएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रमुख नाकामा प्रहरीको तैनाथ रहे पनि चोर बाटोबाट रातको समयमा भित्र्याउन लागिएको कपडा १०३ नं सीमापिलर नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी बल २ नं गण हेडक्वार्टर झापाले जनाएको छ ।

सादा पोसाकमा खटिएका सशस्त्र प्रहरीले ९ पोका कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेले बताउनुभयो ।

मङ्गलवार बिहान साढे २ बजे १०३ नम्बर पिलर नजिकैबाट भन्सार छलेर नेपाल भित्राएको ९ पोका कपडा सशस्त्र प्रहरी बल नम्बर २ गण हेडक्वाटर झापाबाट खटिएको सादा पोसाकको सशस्त्र प्रहरीले बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।

ती कपडा भारतीय लाइनमानले सीमासम्म ल्याइदिने र भद्रपुरका लाइनमानले त्यहाँबाट भद्रपुरमा ल्याई व्यापारीकोमा पुर्‍याउने योजना रहेको बताइएको छ ।

भद्रपुरको सीमामा अवैध ओसारपसारमा नाका बन्दले प्रभाव पार्न नसकेको यो घटनाले पुष्टि गरेको छ ।