बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले खुकुलो पारेको निषेधाज्ञाको मंगलवार बिर्तामोडमा अनुगमन गरिएको छ ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने व्यवसायीले माग गरेपछि खुकुलो पारिएको निषेधाज्ञामा यातायात तथा व्यवसायले स्वास्थ्य मापदण्ड पूरा गरे–नगरेको सम्बन्धित निकायले मंगलबार बिर्तामोडमा अनुगमन गरेको हो ।
सोमबार बसेको डिसीसीएमसी झापाको बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर यातायात र पसल मंगलबारदेखि खुला गर्न अनुमति दिएको थियो । जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड उद्योग बाणिज्य संघले संयुक्तरुपमा बिर्तामोडमा सचेतना तथा अनुगमन कार्यक्रम गरेका छन् ।
अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रतिनिधि, इप्रका विर्तामोडका डिएसपी सन्तोष आचार्य, ट्राफिकका इन्स्पेक्टर निशेष चापागाई, सइ राजकुमार बस्नेत, उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष दिपेन्द्र राउत, सदस्य जीवन खड्कालगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य मापदण्ड पालना नगरेका पसल तथा व्यवसायलाई मास्क, सेनिटाइजर वितरण गर्दै स्वास्थ्यको मापदण्ड अनुसार लगाउन अनुरोध साथै सम्झाइबुझाई गरेको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।