अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नदीजन्य सामग्रीको व्यवस्थापनको विषयमा मंगलबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९मा बिरीङ प्रणाली अन्र्तगत बिरीङ, टाङटिङ र ठूलो नेते नदीबाट प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदनअनुसार स्थानीयस्तरमा रहेका सरोकारवालाहरुसँग सार्वजनिक सुनुवाई गर्दै अन्तरक्रिया गरेको हो ।

प्रतिवेदनअनुसार उत्खनन् एवम् संकलन गर्न सकिने नदीजन्य सामग्रीको विवरण, स्थल र परिमाणको विषयमा जानकारी गराउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिकाले पहिलो कार्यक्रम टाङटिङ र गोयाङ नदीसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरुसँग अर्जुनधारा–२ वडा समिति कार्यालयको सभाहलमा र दोस्रो कार्यक्रम बिरीङ र ठूलो नेतेसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाहरुसँग अर्जुनधारा–१ स्थित सयपत्री युवा क्लबको सभाहलमा आयोजना गरेको थियो ।

भूगर्वविद् यदुनाथ तिम्सिनाले आईई प्रतिवेदनमा उल्लेख भएको विषयबारे प्रस्तुत गरेको कार्यक्रममा सहभागीहरुले मापदण्डविपरीत जथाभावी गरिएको उत्खननका कारण खानेपानीको समस्या, सिँचाईको समस्या, नम्बरी जमिनमा रहेको नदीजन्य सामग्रीहरुको व्यवस्थापनको चुनौती, उत्खनन्को लागि स्पष्ट नीतिको आवश्यकतालगायतका विषयमा सुझावसहित आफ्नो धारणा व्यक्त गरेका थिए ।

वडाध्यक्ष रघुनाथ खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरु गोपाल लामिछाने, महेन्द्र आङदेम्बे, मुकुन्द भण्डारी, रुपनारायण समाल, राकेश मगरलगायतले उक्त धारणा व्यक्त गरेका हुन् ।

त्यसैगरी कार्यक्रमका सहभागी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले नगरको आन्तरिक स्रोतमा बृद्धि भइ देशकै नमुना पालिका बनाउन सकिने हुँदा नदीजन्य सामग्री उत्खननमा देखिएका विकृतिहरु नियन्त्रण गर्न स्थानीयहरुको सहभागिता अनिवार्य रहेको बताए ।

यता दोस्रो कार्यक्रमका सहभागीहरुले पनि आफूहरु विकास विरोधी नभएको जिकिर गर्दै नगरपालिकाले विकासको नाममा ल्याउने यस कार्यक्रमसँगै आउने विनाशको विषयमा भने गम्भीर हुन नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

वर्षौंदेखि राजनीतिक दलको घोषणा पत्रमा आकर्षक मसलाकोरुपमा समावेश हुने तर नदीबाट हुने जोखिमको नियन्त्रण गर्न गरिएका निर्णयहरु कार्यान्वयन नहुने, मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन्मा प्रयोग हुने मेसिनका कारण आइपर्ने समस्या समाधान गर्न नगरपालिकाले चासो नदिएको उनीहरुको आरोप छ ।

त्यसैगरी नगर प्रमुख हरिकुमार रानाले प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक स्रोत जुटाउन नगरपालिकाले मात्र नसक्ने भएको हुँदा त्यसको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा पूर्व जनप्रतिनिधि रामबहादुर निरौला, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, चन्द्र सुवेदी, बेनुप राई, भीम नेपाललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

त्यसैगरी दोस्रो कार्यक्रमका सहभागीहरुले नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम हतारमा गरिएको हुँदा पुनः सरोकारवालाहरुको वृहत सहभागितामा आयोजना हुनुपर्ने माग राख्दै विरोधको संकेत स्वरुप माइन्यूटमा हस्ताक्षर गरेनन् । कार्यक्रमको सञ्चालन वरिष्ठ कार्यक्रम तथा योजना अधिकृत हिमराज सेढाईंले गरेका थिए ।