झापा । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ‘कोशी रिफ्रेसमेन्ट सेन्टर’ अलपत्र परेको छ ।
बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो । उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताए ।
आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भए पनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणअन्तर्गत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक-पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ । उनले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् ।
जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको छ । उक्त रिफ्रेस सेन्टरको निवर्तमान मुख्यमन्त्री शेरधन राईले २०७७ साल मंसिर २४ गते शिलान्यास गरेका थिए ।
यसैबीच, कोशी गाउँपालिका सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचेअनुरुपको काम भने अघि बढाउन नसकिएको बताएका छन् ।
उनले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताए ।
रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल र लिफ्टसहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिने महत्वाकांक्षी योजना छ ।
दुई चरणमा निर्माण कार्य थाल्ने गरी शुरु भएको परियोजना अन्तर्गत पहिलो चरणमा अहिलेसम्म जग्गा अधिग्रहण र माटो पुर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन ।