शनिश्चरे । अर्जुनधारा नगरपालिकाको विभिन्न क्षेत्र भइ बग्ने विरिङ लगायत ४ वटा खोलाबाट नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि ठेक्का लागेको छ ।

नगरपालिकाले आह्वान गरेको बोलपत्रअनुसार यसपटक ८ करोड ९७ लाख २२ हजारमा ठेक्का लागेको छ । बौद्ध ६, काठमाडौँको कर्मा कन्ट्रक्सनले उक्त ठेक्का पाएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विरिङ, टाङटिङ, ठूलो नेते र सुखानी खोलामा हुने नदीजन्य सामग्री उत्खनन् तथा निकासीका लागि एक महिने सूचना प्रकाशित गरी बोलपत्र आह्वान गरेको थियो ।

इबिड प्रक्रियाबाट आह्वान गरिएको बोलपत्रमा विभिन्न ७ वटा कम्पनीको निवेदन परेको थियो । नगरपालिकाले भ्याटबाहेक ४ करोड ८५ लाख ३८ हजार ८३ रुपैयाँ ७६ पैसा ठेक्का रकम तोकेको थियो ।

ठेक्काका लागि सात वटा कम्पनीमध्ये न्यूनतम् रकम ५ करोड ९० लाख ९९ हजारदेखि अधिकतम् कर्मा कन्ट्रक्सनको ८ करोड ९७ लाख २२ हजार रुपैयाँ थियो ।

उक्त ४ वटा खोलाबाट यस वर्ष २ लाख ८१ हजार २ सय घनमिटर नदीजन्य सामग्री उत्खनन् गरी निकासी गर्न मिल्ने प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ)को प्रतिवेदनमा रहेको मूल्यांकन समितिका संयोजक तथा नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईंले बताए ।

विरिङ खोलाबाट नदीजन्य सामग्री उत्खनन् गर्न विरोध आइरहेको अवस्थामा ठेक्का लागेको हो । उत्खनन् गरिँदा पैनीमा पानी नचढ्ने, पानी सुक्नेलगायत समस्या हुने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।

विगतका केही वर्ष ठेक्का लगाइँदा अदालतमा मुद्धासमेत परेकाे थियाे भने कुनै वर्ष ठेक्का नै नलाग्ने स्थितिमा पुगेकाे थियाे ।