अर्जुनधारा । चालु आर्थिक वर्ष ०७८/०७९को दुई महिनामा अर्जुनधारा नगरपालिकाको राजश्व शाखाले ९० लाखभन्दा बढी राजश्व संकलन गरेको छ ।

राजश्व शाखाका प्रमुख डेनजनी आचार्यका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा आन्तरिक आयतर्फ ९० लाख १२ हजार आठ सय ९५ रुपैयाँ ४४ पैसा संकलन गरेको हो । शाखाले चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

शाखाले सिफारिस दस्तुरबाट २६ लाख ४६ हजार ८८६ रुपैयाँ ५० पैसा, भूमि तथा मालपोत करबाट १९ लाख २६ हजार ७८३ रुपैयाँ २८ पैसा, नक्सापास दस्तुरबाट १२ लाख ४९ हजार ८२५ रुपैयाँ ८५ पैसा, अन्य क्षेत्रको आय (सामुदायिक वन समेत)बाट सात लाख ७९ हजार ८२२ रुपैयाँ १३ पैसा राजश्व संकलन गरेको छ ।

यसैगरी, व्यवसाय करबाट छ लाख ७१ हजार पाँच रुपैयाँ, घर बहाल करबाट पाँच लाख २९ हजार ९९२ रुपैयाँ ६८ पैसा, प्रशासनिक दण्ड जरिवाना र जफतबाट तीन लाख ४५ हजार दुई सय रुपैयाँ, सम्पत्ती करबाट तीन लाख ३६ हजार तीन सय पाँच रुपैयाँ, बहाल बिटौरीबाट दुई लाख २९ हजार ८२५ रुपैयाँ, अन्य दस्तुरबाट एक लाख चार हजार छ सय रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी नाता प्रमाणित दस्तुरबाट ६९ हजार पाँच सय रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ६६ हजार नौ सय रुपैयाँ, न्यायिक दस्तुरबाट १५ हजार पाँच सय रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क १२ हजार चार सय रुपैयाँ, सरकारी सम्पत्तीको बहालबाट प्राप्त आयबाट ११ हजार दुई सय रुपैयाँ, अन्य बिक्री (राजपत्र, पुस्तक, नक्सा आदि) बाट प्राप्त रकमबाट आठ हजार चार सय रुपैयाँ, अन्य करबाट पाँच हजार आठ सय रुपैयाँ, विद्युत सेवा शुल्कबाट दुई हजार सात सय ५० रुपैयाँ र अन्य सेवा शुल्क तथा बिक्रीबाट दुई सय रुपैयाँ संकलन भएको छ ।

त्यस्तै शाखाले आर्थिक वर्ष ०७४/०७५मा दुई करोड ५२ लाख ६३ हजार सात सय ९८ रुपैयाँ, ०७५/०७६मा तीन करोड २२ लाख ९७ हजार एक सय ८७ रुपैयाँ, ०७६/०७७मा तीन करोड २३ लाख ८९ हजार नौ सय ७५ रुपैयाँ ५८ पैसा र ०७७/०७८मा छ करोड ७४ लाख ३० हजार पाँच सय ७६ रुपैयाँ १८ पैसा (भूमिहिनहरुको लगत संकलन गरी उठेको बहाल बिटौरी समेत) आन्तरिक आयतर्फ राजश्व संकलन गरेको थियो ।

जरिवाना बापत पाँच लाख ७५ हजार
गत असारदेखि चालु आर्थिक वर्षको भदौ तीन महिनामा प्रतिबन्धित नदीजन्य सामग्री उत्खनन् तथा संकलन कार्यमा संलग्न टिपर र ट्रयाक्टरबाट राजश्व शाखाले पाँच लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

शाखाले गत असार १३ गतेदेखि भदौ १७ गतेसम्म सात वटा टिपर र ५० वटा ट्रयाक्टरलाई प्रशासनिक दण्ड जरिवाना र जफत शीर्षकमा उक्त रकम बराबरको जरिवाना असुल गरेको हो ।