अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नगर विकास सहकारी स्थापना भएको छ । नयाँ सहकारीको रुपमा दर्ता भएको अर्जुनधारा नगर विकास बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनासँगै सोमबार प्रथम अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम गरेको छ ।

सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपन्क्षीजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको उक्त सहकारीको औचित्य र आवश्यकताबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिकाले प्रबद्र्धन गरेको उक्त सहकारी उत्पीडनमा परेका कृषकहरुको लागि आर्थिक समृद्धिको बलियो आधार हुने हुँदा यो सपना केवल नगरपालिकाको मात्र नभई सिङ्गो नगरवासीको भएको नगर प्रमुख हरिकुमार रानाको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि रानाले उपस्थित शेयर सदस्यहरुलाई लक्षित गर्दै भने, ‘सफलता र असफलता तपाईंहरुको हातमा छ, असफल भएको खण्डमा नगरपालिकाले दिने अनुदानमा रोक लगाइनेछ ।’ समृद्धि आफैँ नआउने भएको हुँदा त्यसका लागि संघर्ष र श्रम अत्यावश्यक रहेको उनले औँल्याएका छन् ।

नगर तदर्थ समितिका अध्यक्ष प्रत्युस रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, पशुपन्क्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई र सहकारी ऐन् मस्यौदा समितिका संयोजक रुद्रमणी श्रेष्ठले सहजीकरण गरेका थिए ।

समितिकी सदस्य देवकला प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का सदस्य रुद्रप्रसाद गिरीले गरेका थिए । उक्त सहकारीमा हाल पाँच सय १५ जना शेयर सदस्य रहेका छन् ।