अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाद्वारा बुधबार आयोजित चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रममा उक्त बजेट सार्वजनिक गरिएको हो ।

सो अनुमानित बजेटमध्ये नेपाल सरकारबाट ४७ करोड ७१ लाख रुपैयाँ, प्रदेश सरकारबाट तीन करोड ५७ लाख २५ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट १८ करोड ७४ लाख २८ हजार दुई सय ३० रुपैयाँ र आन्तरिक आयाबाट पाँच करोड ५० लाख रुपैयाँ विनियोजन हुने सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त बजेट नीति तथा कार्यक्रमको प्राथमिकतामा कोभिड १९को महामारीबाट नगरवासीको जीवन रक्षा गरिने, सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराइने, विकास निर्माणका कार्यलाई तिव्रता साथ निरन्तरता दिइने, आर्थिक तथा सामाजिकरुपले पछाडि परेका क्षेत्र, वर्ग, समुदायको उत्थानका निम्ति विशेष कार्यक्रम सञ्चालन गरिने, गरिवी न्यूनीकरणका लागि सार्वजनिक निजी सहकारी अवधारणा अनुरुप स्रोत तथा साधान परिचालन गरिनेलगायत रहेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाई, माओवादी केन्द्रका अम्बिका फूँयेल, ज्येष्ठ नागरिक रामप्रसाद भट्टराई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन खरिदार सौजन कटुवालले गरेका थिए ।