बिर्तामोड । झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले बिहीबार घटस्थापनाको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् । स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गरेका हुन् ।

 

फर्मालिन प्रयोग गरेर हप्तौंपछि नेपाल भित्र्याइएका भारतीय मरेको माछाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर किसिमका रोग लाग्न थालेको उपभोक्ताको गुनासो छ । उपभोक्ताको गुनासो तथा जिल्लाका माछा पालककिसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्नेगरी जिउँदो माछा बिक्री केन्द्रहरुसञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।

 

गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इँटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो ।

 

११वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत गरिएको हो । सरसफाईमा विशेष ध्यान दिँदै उपभोक्तालाई अग्र्यानिक ताजा माछा खुवाउने व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभय राजवंशीले बताए ।

 

बिक्री केन्द्रमा पंघास, रहु, कमन कार्प, बिग हेड, पम्प्लेट, नैनीलगायतका माछा राखिएका छन् । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्यूरियम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।

 

जिल्लामा माछा पालक किसानको संख्या दैनिक बढ्दै गए पनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे ।

 

स्वास्थ्यका लागि माछा बहुउपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीय माछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो स्वस्थक माछा खाने बानी बसाल्न ढकालले आग्रह गरे ।

 

पाँच जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना बिक्री गर्दै आएको छ । भारतीय कम्पनी ग्रोवेल फिड्सको ग्रोवेल नामक माछाको दाना बिक्री गर्दै आएको सञ्चालक प्रमोद राजवंशीले बताए । उनले बडा दशैंपछि जिउँदो माछा बिक्री केन्द्रहरु थप बिस्तार गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।