काठमाडौँ । यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।

 

विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । ‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन्,’ उनले भने ।

 

यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक, एक वटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि बैंक तथा वित्तीय संस्था र असोज ४ देखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन सुरु गरेको थियो । गत सोमबारदेखि यो सेवा बन्द भएको छ । तिहार र छठ पर्वका लागि भने दसैं बिदापछि आवश्यकताअनुसार नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ । कोरोनाका कारण गत वर्ष नयाँ नोट वितरण गरिएको थिएन ।

 

तर, बैंक तथा वित्तीय संस्थालाई भने यो सुविधा दिइएको थियो । सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्दा पनि त्यसबेला ३३ अर्ब रुपैयाँ राष्ट्र बैंकबाट बाहिरिएको थियो । अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी करिब ५२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको थियो ।

 

दसैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ अन्तिम साता चलनचल्तीमा रहेको मुद्रा करिब ६ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै थियो ।

 

दसैं र तिहारको अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनका सिक्का (चाँदीका स्मारिका सिक्का र सुनका असर्फी) पनि धेरै बिक्री हुँदै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ