बिर्तामोड । बिर्तामोड निवासी समाजसेवी महेन्द्र गिरी र ज्योति गिरीले आफ्नी छोरी कृतिमाको जन्मदिनको अवसरमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

 

उनीहरुले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि उक्त रकम सहयोग गरेका हुन् ।

 

सामाजिक अभियन्ता गिरीसहित उनकी श्रीमती ज्योति तथा छोरी कृतिमाले मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्णु निष्ठुरीलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।

 

सहयोग प्रदान गर्दै गिरीले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी पत्रकारको दिगो विकासमा केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको जानकारी दिए । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख, एकका लागि एक अभियानका संयोजक तथा दर्जनौ संघसंस्थामा आबद्ध गिरीले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाई, अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराईलगायतले समाजसेवी गिरीले गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

 

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको अध्यक्ष गिरीले जानकारी दिए । कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको उनले बताए ।

 

कोषमा हालसम्म झण्डै ४५ लाख रुपैयाँ जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।