अर्जुनधारा । केही दिनदेखि अविरल वर्षा र हावाहुरीका कारण किसानको धानबालीमा क्षति पुगेपछि झापाको अर्जुनधारा नगरपालिकाले तथ्याङ्क संकलन शुरु गरेकोे छ ।

आइतबारदेखि लगातार भएको वर्षा र हावाहुरीले नगरका ११वटै वडामा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको थियो । किसानले काटेर खेतमा सुकाएको धान अत्याधिक वर्षाका कारण डुवानमा परेको छ भने हावाहुरीले लडाएर धानमा क्षति पुगेको छ ।

नगरले सार्वजनिक सूचना जारी गर्दै हावाहुरी तथा मुसलधारे वर्षाका कारण कृषकहरूले लगाएको धानबालीमा के कति क्षति भएको छ भनी तथ्याङ्क संकलन शुरु गरेको हो ।

नगरले किसानहरूलाई सम्बन्धित वडाका पदाधिकारी, टोल विकास संस्थाका प्राविधिकहरूसँग स्थलगत अनुगमन गरी क्षतिको यथार्थ विवरण यथाशिघ्र वडा कार्यालयमा पेश गर्न आव्हान गरेको छ ।

 

नगरका किसानले लगाएको धानबालीको क्षतिको विवरण संकलन गरी केन्द्रमा पठाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईले बताए । संघीय सरकारले धानबालीको क्षतिबारे विवरण संकलन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको थियो ।

नगरले कृषि शाखाकी तीन जना कर्मचारीलाई ११ वटै वडामा यथार्थ विवरण संकलनका लागि खटाएको छ । कर्मचारीले स्थानीय वडा कार्यालयको समन्वयमा भोलि ५ गते शुक्रबारदेखि ७ गतेसम्म विवरण संकलन गर्ने पनि नगरका प्रमुख प्रशासकीय अधिकृत चौँलागाईले जानकारी दिए ।