बिर्तामोड । नेपालकै उत्कृष्ट सहकारी झापा चारपानेको सहारा नेपाल साकोसले गाईभैँसीलाई सुत्केरी भत्तादेखि लिएर गरिब विधार्थीलाई डाक्टर बनाउने रणनीतिक योजनालाई अघि सारेको छ । सदस्य संरक्षण सिद्धान्त राम्रो पालना गरे वापत विश्व स्तरीय मान्यता सर्टिफिकेशन प्राप्त सहाराले अबको केही वर्षमा नेपालका क वर्गका बैंकभन्दा सस्तो व्याजदरमा कर्जा दिने योजना समेत अघि सारेको छ ।
०७८ आषाढ मसान्तसम्मको संस्थाको वासलात १२ अर्व ७१ करोड ८१ लाख पुगेको छ । यसलाई बृद्धि गर्दै आगामी १० वर्षभित्र एक खर्ब रुपैयाँको लक्ष्य बनाएको छ ।
संस्थाको २५ औँ वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले रणनीतिक योजना निर्माण गरेर २०८८ सालसम्ममा संस्थाको वासलात एक खर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिइएको बताएका हुन् ।
त्यस्तै, रणनीतिक योजनाअनुसार कार्य क्षेत्र विस्तार गरी प्रदेश १ भरि १३७ वटा स्थानीय तहमा पुग्ने लक्ष्य राखिएको गिरीद्वारा प्रस्तुत प्रतिवदनमा उल्लेख छ । हाल सहारा नेपाल छवटा जिल्लामा पूर्ण रुपमा र पाँच जिल्लाका दुई दुईवटा गरी ८० स्थानीय तहमा कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
संस्थाले एकीकरण प्रयासअन्तर्गत सहाराको कार्य क्षेत्रभित्रका एक सयवटा राम्रा सहकारी संस्थाहरुसँग मर्ज गर्ने रणनीतिक योजना अघि सारेको छ । त्यस्तै, बचतमा बैंकको भन्दा उच्च ब्याजदर प्रदान गर्ने र ऋणमा बैंकसरह ब्याज दिने, सदस्यलाई मोबाइल बैंकिङ, क्युआर कोड, इटेलर, एटिएम सेवासहितको प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।
गत असार मसान्तसम्म एक लाख ५० हजार ३५४ शेयर सदस्य रहेको सहाराले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले यो आर्थिक वर्षमा दुई लाख सदस्य र १६ अर्बको वासलात बनाई ६० करोड रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।

सहाराले सहुलियत ब्याजमा वैदेशिक ऋण ल्याउन प्रयत्न गरिरहेको गिरीले बताए । सो ऋण रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि प्रदान गरिने संस्थाले योजना बनाएको छ ।
एक अर्ब ४६ करोड ६५ लाख रुपैयाँ शेयर पुँजी रहेको सहाराले ‘म पनि उद्यमी’ कार्यक्रम अघि सार्दै आगामी चार वर्षभित्र १० हजार उद्यमी तयार गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम, सीप, ऋण, बजार र प्राविधिक ज्ञानमा सहयोग गर्नेछ ।
९४ करोड एक लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाले अल्पसंख्यक र अति विपन्न सदस्यका सन्तानलाई चिकित्सा शिक्षा (एमबिबिएस) अध्ययनका लागि १० जनालाई सहयोग गर्ने लक्ष्यसहितको कार्यक्रम अघि सारेको छ । सोअन्तर्गत यो वर्ष दुई जनाबाट सुरु गरिनेछ ।
३७ करोड ५७ लाख रुपैयाँको अन्य कोष रहेको सहारा नेपालले संस्थाका दुई सय अति विपन्न सदस्यलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराउने लक्ष्य लिइएको प्रतिवेदनमा उल्लेख छ ।
यो वर्षदेखि ‘मेरो गौरव, मेरो सहारा’ र ‘सधैँका लागि, सबैका लागि’ नयाँ नारा तय गरेको संस्थाले अघिल्ला वर्षहरुमा सञ्चालित स्वास्थ्य, सामाजिक, कृषिलगायतका कार्यक्रमहरुलाई अझ परिस्कृत गर्दै निरन्तरता दिने योजना बनाएको छ ।

सामुदायिक विकास कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष चारवटा वितरण गरिने गिरीद्वारा प्रस्तुत हुने प्रतिवेदनमा छ ।
संस्थाले सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाइग्नोसिस सेवा प्रदान गर्न भवन निर्माण गर्ने योजना बनाएको छ । त्यस्तै, स्वास्थ्य र सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
संस्थाले सदस्यहरुको उत्पादनलाई बजारीकरणमा सहज बनाउन सम्भाव्यता अध्ययन गरी कृषकका १० वटा उत्पादनलाई प्रशोधन, बजारीकरण र उत्पादन प्रविधिमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
सहारा नेपालका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले संस्थाले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्नुमा शेयर सदस्यहरूको योगदान महत्वपूर्ण रहेको बताए । उनले संस्थालाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अघि सारिएको जानकारी दिए ।
कात्तिक २७ गते बिर्तामोडमा हुने २५ औँ साधारणसभाको प्रमुख अतिथि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ हुने छन् भने अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष रमेश पोखरेल, सहाराबाट राष्ट्रिय सहकारी सम्मानका लागि घोषित सहकारीका अग्रज केशव बडाल रहने छन् ।