बिर्तामोड। झापाको बिर्तामोडमा यामाहा एफजेड भी थ्रीको भिन्टेज एडिसनको बिक्री सुरु भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंक बिर्तामोडमा आज मोटरसाइकलको औपचारिक अनावरण गरियो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्य र सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेतले संयुक्त रुपमा मोटरसाइकलको अनावरण गरे ।
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले एक्स कनेक्ट फिचरसहितको भिन्टेज एडिसन नेपालमा बिक्री सुरु गरेको हो ।
कम्पनीले बिएस ६ इन्जिनसहितको यामाहा एफजेड भी थ्री मा ब्लुटुथ कनेक्ट फिचर भएको यामाहा एफजेडको ४ कलर अप्सनमा नेपालमा ल्याएको हो । कम्पनीले भित्र्याएको डार्कनाइट भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ भने अन्य तीन कलरको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
यामाहा एफजेड भी थ्रीको भिन्टेज एडिसनमा मुख्यतः यसको ग्राफिकमा परिवर्तन ल्याएको छ । यसको सिटको साइज बढाएर अझै कम्फर्ट बनाएको छ भने सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले यामाहा कनेक्ट-एक्स टेक्नोलोजी प्रयोग गरेको छ ।
भिन्टेज एडिसनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा १४९ सिसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआइ इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पिएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।
नयाँ मोटरसाइकलका बारेमा सयपत्री ट्रेडलिंकका सञ्चालक विनोद बस्नेतले भने, ‘ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको अहिलेसम्मकै हल्का वजनको छ । यस बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ ।’
यामाहाको हरेक एफ जेड सिरिजले हरेकपटक ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइकप्रेमीहरूको मन जित्न सफल भइरहेको बस्नेतले बताए ।