बिर्तामोड । सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रमअन्तर्गत शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । कोभिडबाट पीडित सदस्यहरुलाई १ करोड ९३ लाख ४६ हजार रुपैया हस्तान्तरण गरेको हो ।
आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी सहाराले विभिन्न चार शीर्षकमा राहत रकम वितरण गरेको हो । संस्थाले कोभिड उपचार, औषधि सहयोग, कोभिड पोषण र परिवार राहतबापत रकम वितरण गरेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा सहाराका पाँचवटा सेवा केन्द्रका सदस्यहरुलाई प्रतिनिधिमुलक सो राहत वितरण गरिएको हो । अन्य सेवा केन्द्रहरुमा पनि राहत रकम वितरण गरिएको छ ।
परिवार राहतबापत कोभिडका कारण निधन भएका परिवारका सदस्यलाई तीन लाख रुपैयाँका दरले सात परिवारलाई २१ लाख रुपैयाँको चेक हस्तान्तरण गरियो । बाँकी सात परिवारलाई छ लाख रुपैयाँ वितरण गरिने संस्थाले जनाएको छ ।
कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि डा शरद भट्टराई, कार्यकारी प्रमुख गिरीलगायतले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, पोषण कार्यक्रमअन्तर्गत दुई हजार ३०० जनालाई दुई हजार रुपैयाँका दरले ४६ लाख रुपैयाँ वितरण गरिएको जीवन बरदान कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले जानकारी दिए ।
कोभिड संक्रमित भई आइसोलेसनमा बसेका ९७८ शेयर सदस्यलाई दिनको ५०० रुपैयाँका दरले १४ दिनको ६८ लाख ४६ हजार रुपैयाँ वितरण गरिएको थियो । त्यस्तै, कोभिड भई अस्पतालमा उपचार गराएका ३९ जना शेयर सदस्यलाई ५२ लाख रुपैयाँ बराबरको खर्च सहाराले व्यहोरो गिरीले बताए ।
संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सामुहिक देउसी भैलोसमेत खेलेका थिए भने डा भट्टराई संक्रमितको उपचार गर्दाको अनुभव सुनाएका थिए ।