बिर्तामोड । शिखर बचत तथा ऋण सहकारी संस्था भोलि (बिहीबार)देखि आफ्नै भवनमा सर्ने भएको छ ।
गत असोज २२ गते १० वर्ष पूरा गरी ११ वर्षमा लागिरहँदा कात्तिक १८ गते लक्ष्मी पूजाको दिनदेखि संस्थाले आफ्नै भवनबाट सेवा दिने भएको हो । बुधबार आफ्नै भवनमा पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले भोलि बिहान १० बजे प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नं १ इटहरीका प्रमुख बलराम निरौलाले संस्थाको भवनको उद्घाटन गर्ने जानकारी दिए ।
बिर्तामोडको भद्रपुररोडमा २०७७ साल असोज १ गते २९२.२० वर्गमिटर क्षेत्रफलमा साढे तीन तलाको भवन २ करोड १८ लाख ४० हजार एक रुपैयाँमा संस्थाले खरिद गरेको थियो । उनले आफ्नै भवनबाट सदस्यहरुलाई अझ बढी सेवा दिने बताउँदै स्थानीय युवाबाट सञ्चालित यस संस्था सुरुवातबाट नै बिर्तामोड क्षेत्रमा अलग पहिचानका साथ सदस्यहरुको सेवा तत्पर रहँदै आएको जानकारी दिए ।
२०६७ साल असोज २२ गतेका दिन औपचारिक उद्घाटन गरी शिखर साकोस सञ्चालनमा आएको हो । ४४ जना शेयर सदस्यको ४४ हजारबाट साविक गाविसहरु अर्जुनधारा, गरामनी, शनिश्चरे, चारपाने र अनारमनीसहित ५ गाविस कार्यक्षेत्र रहेर सुरुवात गरिएको शिखर साकोसलाई अहिले जिल्लाकै ठूलो सहकारीको रुपमा लिने गरिन्छ ।
तीन जना कर्मचारीबाट सुरुवात भएको यस संस्थामा हाल ३५ जना कर्मचारी कार्यरत रहेका छन् । झापा जिल्लाको माई खोलापूर्व कार्यक्षेत्र रहेको यस संस्थामा असोज मसान्तसम्मको तथ्याङ्घ अनुसार कुल सदस्य ७ हजार ८४६ जना रहेको छ भने जम्मा शेयर रकम ५ करोड ४५ लाख ६९ हजार ५ सय रुपैयाँ रहेको छ ।

यस्तै, कुल बचत ६५ करोड १५ लाख ९ हजार ७८७ रुपैयाँ रहेको छ । त्यस्तै कुल ऋण लगानी ६९ करोड ५५ लाख २० हजार ५२६ रुपैयाँ रहेको छ भने खुद नाफा १ करोड ४२ लाख ३३ हजार १सय ९ रुपैयाँ रहेको छ ।
‘प्रविधिमा हामी एक कदम अगाडि’ भन्ने नारासहित संस्थाले प्रविधिलाई समयसापेक्ष अपडेट गर्दै सदस्यहरुलाई मोवाइल बैकिङ्गमा प्रोत्साहन गर्न एक महिनाका लागि कात्तिक १८ गते लक्ष्मी पूजाको दिनबाट बैक ट्रान्सफरमा लाग्ने शुल्क फ्रि गरिएको समेत राउतले जानकारी दिए ।
शिखर एम बैकबाट प्रतिकारोवार १ लाख गर्न सकिने र दैनिक २ लाखसम्म मोवाइलबाट रकम बैक ट्रान्सफर गर्न सकिने उनको भनाइ छ । साथै उनले अत्याधिक सुविधासम्पन्न भवन बनाएसँगै सदस्यहरुको मागलाई ध्यानमा राखेर नेपालमा नै पहिलोपटक सहकारीमा लकर सुविधा ल्याएको बताए ।
सामाजिक कार्यमा पनि अग्रणी रहेको संस्थाले स्थापना दिवसको अवसरमा राजगढ सेवाकेन्द्रमा १ सय जना विपन्न परिवारका बालबालिकालाई दशैको लुगा वितरण गरेको थियो ।
त्यस्तै, सदस्यहरुलाई कोरोनाको समयमा १३ लाख ६७ हजार ४३३ व्याज छुट गरेको जनाएको छ । कोरोना महामारीको कारण देशैभरि भएको अक्सिजन सिलिन्डरको अभाव भइरहेकाले यसै वर्षदेखि सदस्य तथा सदस्यका परिवारलाई अक्सिजन सिलिन्डर निशुल्क उपलव्ध गराइने संस्थाका सचिव हिमालय प्रसाईले जानकारी दिए ।
सदस्यहरुको मृत्यु भएमा ५० हजार, परिवार मृत्यु राहत २५ हजार र घातक रोगको उपचार राहत १० हजार सदस्यलाई उपलव्ध गराउँदै आएको छ । कार्यक्रममा संस्थाका सहसचिव तारा खतिवडा, व्यवस्थापक लीला रेग्मीलगायतको उपस्थिति रहेको थियो ।