शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाको पशुपंछी, मत्स्य तथा कछुवा विकास शाखाले २०७७/७८ मा गरेको कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ । शाखाले यस आर्थिक वर्षमा शतप्रतिशत कार्य सम्पादन गरेको समिक्षा कार्यक्रममा जानकारी दिइयो ।

 

यस शाखाबाट पशु सेवा कार्यक्रम शीर्षकमा १९ हजार ९४९ पशुपंक्षीको.उपचार गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । उनका अनुसार यस क्रममा ६ सय वटा माइनर सर्जिकल गरिएको छ भने गाइनोसम्बन्धी ५ सय वटा उपचार सेवा उपलब्ध गराइएको छ ।

 

यस्तै, प्रयोगशाला सेवामार्फत दुई हजार १३८ वटा दूध परीक्षण, गोबर, पिसाब परीक्षण गरी कृषकलाई सेवा उपलब्ध गराइएको शाखाले जनाएको छ । यसैगरी, भ्यक्सिनेशन कार्यक्रमअन्तर्गत खोरेत रोगको ८ हजार, पिपिआरको ३५ हजार, स्वाइन फिवर १ हजार ५ सय, रेविजको २ हजार १५८ रहेको छ ।

 

जसका कारण कृषकहरुको पशु धनको सुरक्षा, उत्पादनमा बृद्धि, उपभोक्ताले स्वच्छ, स्वस्थ पशुजन्य पदार्थको उपभोग गर्न पाए भने पशुको अकालमा मृत्युबाट बचावट हुनका साथै पशुलाई पीडा हुनबाट मुक्ति मिल्नु शाखाको उपलब्धी रहेको प्रमुख राईले दाबी गरे ।

 

प्रयोगशाला सेवा सञ्चालनमा आएपछि रोग निदानसँगै उपचारमा प्रभावकारी र सफल उपचारमा सहयोग मिलेको उनको भनाइ छ । त्यसैगरी, गुणस्तर उपचार सेवा, महामारी रोग नियन्त्रण, माछा, मासु तथा दुग्धजन्य खाद्य पदार्थहरु स्वस्थ भएकोले आम उपभोक्ताको स्वस्थ्यमा सुधार आएको बताइएको छ ।

 

यस्तै, आहारा तथा पोषण कार्यक्रमबाट लागत साझेदारीमा जै घाँसको बीउ वितरण गरिनुका साथै लागत साझेदारीमै साइलेज बनाउने मेशिन तथा उपकरण खरिद गरि वितरण गरिएको छ । लागत साझेदारीमा युएवि उत्पादन भएको जनाइएको छ ।

 

गाईको बाछीमात्र जन्मने (सेक्सड) सिमेन, शुद्ध वोयरको सिमेन तथा बीउ बोका वितरण, मुर्रा भैँसीको सिमेन र बंगुर उत्पादनमा शाखाले उपलब्ध गराएको नश्ल सुधार कार्यक्रम प्रभावकारी भएको दाबी गरिएको छ ।

 

जसका कारण प्रतिदिन कम्तिमा २० लिटर दूध उत्पादन गरिनुका साथै प्रतिगाई १ लाखमा बिक्री हुने गरेको छ भने बाछी ५० हजार गरिँदै आएको छ । यस्तै, प्रतिवोयर बोका ५० हजारदेखि १ लाख पचास हजारसम्म किसानले बेच्दै आएको शाखा प्रमुख राईले जानकारी दिए ।

 

शाखाले सञ्चालन गरेको माछा विकास कार्यक्रमबाट नगरका ३० जनाले माछापालन तालिम लिए भने ४ लाख मूल्यबराबरको ८० हजार माछाको भूरा पनि वितरण गरिएको छ । यस्तै, नगरमा एउटा दाना उद्योग पनि सञ्चालनमा आएको छ ।

 

जसबाट ५० जना माछा व्यवसायी बन्नुका साथै रोजगारको सिर्जना भएको शाखाको दाबी छ । औषतमा ५ करोडबराबरको माछाबाट वार्षिक आम्दानी भएको बताइएको छ । अहिले अर्जुनधारा माछा उत्पादनमा ५० प्रतिशत अत्मर्निभर बन्न सकेको जनाइएको छ ।

 

माछा विकास कार्यक्रम सञ्चालनमा आएपछि वाह्य माछाको आयातमा कमी आउनुका साथै यही नै माछाका भूरा उत्पादनका लागि २ वटा नर्सरी स्थापना भएका छन् । त्यस्तै, यसको सेवनले स्थानीयमा प्रोटिन खाद्य पोषणमा बृद्धि भएको जनाइएको छ ।

 

यसैगरी, शाखाले सञ्चालन गरेको बंगुर विकास कार्यक्रमबाट १५ जना कृषकले लागत साझेदारीमा खोर निर्माण तथा सुधार गरेका छन् भने व्यावसायिक बंगुर पालन तालिम प्रदान गरिएको छ ।

 

लोकल कुखुरा विकास कार्यक्रमअन्तर्गत लागत साझेदारीमा सात वटा वडामा कृषक छनौट गरि २९ जनालाई २ हजार ९०० चल्ला वितरण गरिनुका साथै दाना, औषधि तथा भ्याक्सिन उपलब्ध गराइएको छ ।

 

जसबाट ४ हजार ५० केजी मास नगरमै उत्पादन हुँदा कुखुरा पाल्ने कृषकले २० लाख २५ हजार कम्तिमा आम्दानी लिन सफल भएका छन् ।

 

शाखाले सञ्चालन गरेको बाख्रा विकास कार्यक्रमअन्तर्गत २३ जना कृषकले खोर निर्माण तथा सुधारको सेवा लिए भने ५ वटा वोयर बीउ बोका खरिद गरिएको छ । त्यस्तै, १० वटा बाख्रा, कुटी काटने मेशिन वितरण, ३५ हजार पिपिआर भ्यक्सिन लगाइएको छ । उनीहरुलाई व्यावसायिक बाख्रापालन तालिम पनि प्रदान गरिएको शाखाले जनाएको छ ।

 

रेविज रोग नियन्त्रण कार्यक्रमअन्तर्गत रेविज रोगविरुद्ध घरपालुवा र सामुदायिक कुकुरलाई निःशुल्क खोप लगाइनुका साथै सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरि सेवा प्रवाह गरिएको छ ।

 

जसबाट नगरमा रेविज रोग फैलिएको छैन भने मानव जनधनको क्षति नभएको दाबी गरिएको छ । यस्तै, पशुधनको सुरक्षा भएको छ भने सामुदायिक कुकुरको जनसंख्या नियन्त्रणमा सहयोग पुगेको छ । त्यस्तै, सामुदायिक कुकुरका कारण हुने सडक र्दुघटनामा कमी आउनुका साथै कुकुरबीचको अनावश्यक झगडा र उनीहरुले निम्त्याउने कोलाहलमा कमी आइ वातवरणमा सुधार आएको शाखाको दाबी छ ।

 

शाखाबाट उपलब्ध बिमा कार्यक्रमबाट २१५ घरपरिवार लाभान्वित बनेका छन् । कृषकले तिर्नुपर्ने बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिइएको शाखा प्रमुख राईले जानकारी दिए ।

 

उनका अनुसार बिमा कार्यक्रम सञ्चालन भएपछि ८० जना कृषकहरुले १९ लाख बराबरको क्षति रकम प्राप्त गरे भने यसपटक कृषकको ३ करोडबराबरको जोखिम बहन भएको छ ।

 

नगरमा देखिनेगरी सञ्चालनमा आएको दुग्ध पकेट प्याकेज कार्यक्रमबाट १ नम्बर वडाको सिस्ने, २ नम्बर वडाको बेलटार र ११ नम्बर वडाको सालबारीस्थित थापा चोकमा चिलिङ भ्याट सञ्चालनमा आएको छ ।

 

जसका कारण नगरमा ३ वटा उद्योगको स्थपना भए भने कृषकले ४० रुपैयाँमा बिक्री गर्दै आएको दूधको मूल्य ८५ रुपैयाँसम्म कायम भएको छ । उद्योग स्थापना भएपछि विचौलियको अन्त्य हुनुका साथै खाद्य गुणस्तरमा सुधार आएको छ ।

 

त्यस्तै, कृषकले दूधको उचित मुल्य पाएका छन् भने गाउँघरमै रोजगारीको सिर्जना हुँदा पशुपालन व्यवसायमा पनि बृद्धि भएको पाइएको छ । व्यावसायिक पशुपालनले गोबर ग्यासजस्ता वैकल्पिक उर्जा उत्पादनमा पनि कृषक सफल बनेका छन् ।

 

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा पशु र कृषि शाखाले यस आर्थिक वर्षका लागि छुट्टा छुट्टै कार्य योजना पनि प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा सहभागीहरुले कृषि शाखाबाट प्रवाह हुने सेवा समय अनुकूल तत्काल लागू गर्न आग्रह गरेका थिए । अहिले मकै र गहुँ बीउ वितरण गर्ने समयमा ढिला नगरी कृषकसँग सहकार्य गर्न जरुरी रहेको उनीहरुले औँल्याएका छन् ।

 

कार्यक्रममा नगरकी उपमेयर कमला खतिवडा आचार्यले आफ्नो भनाइ राखेकी थिइन् भने ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारती, ७ नम्बर वडाध्यक्ष नविन ढुंगाना, १ नम्बर वडाध्यक्ष गजाधर खतिवडा, बोर्ड सदस्य खड्गमाया पौडेली, १० नम्वर वडाका सदस्य भोला गौतमलगायतले जिज्ञासा राखेका थिए ।

 

पशुपंक्षीसम्बन्धी शाखा प्रमुख पदमलाल राई, कृषि सम्बन्धी कर्मचारी उर्मिला राजवंशी र आर्थिक विकास समितिकी संयोजक दिलमाया दासले जिज्ञासाको जवाफ दिएका थिए ।