झापा । झापा, धुलाबारीका २२ वर्षीय अन्सुल वंशल लकडाउनअघि दिल्लीको हंसराज कलेजमा बिजनेस मेनेजमेन्टमा ब्याचलर गर्दै थिए । होस्टल बसेर पढ्थे । पकाएर खाने फुर्सद थिएन । त्यहीं अनलाइनमार्फत खाजा मगाउँथे, खान्थे । उनले सुनाए, ‘जे खान मन लागे पनि अनलाइनबाट सस्तो र सहज रूपमा आइपुग्थ्यो ।’
पढाइ सकेर घर फर्किए लगत्तै लकडाउन भयो । त्यसपछि झापा लक्ष्यित गर्दै उनले यमी फुड डेलिभरी खोले । झापामा भरपर्दो फुड डेलिभरी थिएन । भोक लाग्दा खाजा खान होटल या रेस्टुरेन्ट नै पुग्नुपर्ने बाध्यता थियो । त्यो बाध्यतालाई अन्सुलले हटाइदिए ।
‘मोबाइलको भरमा हामी घर-घर खाजा डेलिभरी गर्छौं,’ उनले भने । धुलाबारीकै अर्का युवा धनराज थापा मगरसँगको सहकार्यमा अनलाइन एप बनाएर सेवा दिएका छन् ।
‘स्वादिलो खानेकुरा खान रेस्टुरेन्ट धाउनुपर्ने बाध्यता अब छैन,’ उनी भन्छन्, ‘रोजेको रेस्टुरेन्टको जुनसुकै परिकार घरमै पुर्याउँछौं ।’
‘यमी फुड डेलिभरी सर्भिस अहिले बिर्तामोड केन्द्रित छ । जिल्लाभरि नै सेवा विस्तारको योजना अन्सुलसँग छ । शाकाहारी परिकार ग्राहकको घरमै पुर्याउने व्यवस्था यमीले मिलाएको छ ।
यमी फुड डेलिभरीमा करिब २५ जनाको टिम छ । टिमले पिज्जादेखि पानसम्म घरघरै पुर्याउँछ । अहिले बिर्तामोड, धुलाबारी, अर्जुनधारा, शनिश्चरे, बुट्टाबारी, चन्द्रगढी, भद्रपुर, चारआली, इँटाभट्टा, सुरुंगा, धाइजन, काँकरभिट्टा, दुर्गापुर र लक्ष्मीपुरमा सेवा उपलब्ध गराएको छ ।
ग्राहकलाई फाइदाको कुरा त के भने रेस्टुरेन्टकै मूल्यमा घरमै सामान आइपुग्छ । डेलिभरीबापत दूरीअनुसार कम्तीमा ३० देखि १ सय रुपैयाँसम्म सर्भिस चार्ज छ । पहिलो डेलिभरी र बर्थडे केकमा सर्भिस चार्ज निःशुल्क छ । इकान्तिपुरबाट