शनिश्चरे । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्ज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा डिल्ली घोर्साईं चयन भएका छन् ।

 

संस्थाको शनिबार सम्पन्न १९औं वार्षिक साधारणसभाले यसअघि उपाध्यक्ष रहेका घोर्साईंलाई अध्यक्ष पदमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा रञ्जना कार्की, सदस्यहरुमा उर्मिला रिमाल, कुन्ता प्रसाईं, गंगा सुवेदी, गायत्रादेवी सिटौला, रेनुका अधिकारी, लीला पोखरेल मिश्र र सभन अधिकारी चयन भएका छन् ।

 

सोही सभाले ठाकुरसिंह गुरुङको संयोजकत्वमा लीलाजंग थापा र सुशिला राई सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको छ ।

 

समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्षतामा आयोजित सभा अन्तर्गत उद्घाटन सत्रको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा अध्यक्ष पौड्यालले संस्थाको गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिकी संयोजक इन्दिरा दाहालले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक तुलसा कुँवरले चालु आर्थिक वर्ष ०७८÷०७९को लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

 

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ६७ लाख ७९ हजार दुई सय रुपैयाँ, बचत संकलन तीन करोड ९८ लाख ४६ हजार आठ सय १७ रुपैयाँ, बचत फिर्ता तीन करोड ११ लाख ६७ हजार तीन सय ५८ रुपैयाँ ७४पैसा, कर्जा लगानी तीन करोड ९७ लाख ९५ हजार नौ सय रुपैयाँ, कर्जा असुली दुई करोड ७९ लाख ८८ हजार दुई सय २९ रुपैयाँ उल्लेख गरिएको छ ।

 

 

त्यसैगरी संस्थाको जम्मा आम्दानी दुई करोड ५५ लाख ४७ हजार तीन सय ६७ रुपैयाँ ४९ पैसा, जम्मा खर्च दुई करोड ४० लाख ६७ हजार आठ सय ३० रुपैयाँ ३४ पैसा र नाफा १४ लाख ७९ हजार पाँच सय ३७ रुपैयाँ १५ पैसा रहेको छ ।

 

सोही सभामा ज्येष्ठ शेयर सदस्य मगनमाया नेपाली, असल उद्यमी राधिका खड्का रीजाल र हरिमाया बानियाँ, उत्कृष्ट बचतकर्ता युवराज खनाल, उत्कृष्ट बाल बचतकर्तात्रय ओनसीफरस न्यौपाने, एन्जिका न्यौपाने र सत्कार बानियाँलाई सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, झापा जिल्ला सहकारी संघ लेखा समितिका सदस्य प्रेमसागर सापकोटा, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष चन्द्रा सुब्बा, ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्थाकी उपाध्यक्ष रुपा गौतम, सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक पम्फा विश्वकर्मा, सल्लाहकार समितिका संयोजक दीपेन्द्र काफ्लेलगायतको आतिथ्यता रहेको थियो ।

 

समितिका उपाध्यक्ष डिल्ली घोर्साईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।