शनिश्चरे । नगर विकास सहकारीको अवधारणाअनुरुप गठन भएको नेपालकै पहिलो अर्जुनधारा नगर विकास सहकारी बुहुउद्देश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा मंसिर २९ गते हुने भएको छ ।

 

अर्जुनधारा नगर विकास सहकारीबारे अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आज गर्दै त्यस्तो जानकारी दिएको हो । साधारणसभा गर्नुअघि संस्थाले मंसिर २२ गते कैदले सामुदायिक भवनमा अर्जुनधारा १, २ र ३ नम्बर वडामा र २३ गते पितृ भवनमा ४,५, ७ र ८ नम्बर वडाका लागि अभिमुखीकरण कार्यक्रम गर्ने संस्थाका अध्यक्ष प्रत्युस आजाद रानाले बताएका छन् ।

 

सहकारीको माध्यमबाट कृषकहरुले उत्पादन गरेको कृषि तथा पशुपन्क्षीजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको उक्त सहकारीको औचित्य र आवश्यकताबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

 

नगर तदर्थ समितिका अध्यक्ष रानाको अध्यक्षता र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पशुपन्क्षी विकास शाखा प्रमुख पदमलाल राईले नगर सहकारी किन भन्ने विषयमा प्रस्तुति दिएका थिए । यस्तै, कृषिशाखा प्रमुख उर्मिला राजंवशीले नगरमा कृषकहरूले पाउने सेवा सुविधाका बारेमा आफ्ना भनाइ राखेकी थिइन् ।

 

यस्तै, सहकारीको स्थापना, उद्देश्य, यसका कार्य नीति र विविध विषयमा नगर सहकारीमा आवद्ध सेयर सदस्यले जिज्ञासा राखेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्यहरूलाई अर्जुनधारा नगरपालिकाका प्रमुख रानाले प्रमाणपत्र प्रदान गरेका थिए ।

 

सञ्चालक समितिकी सदस्य देवकला प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेकोे कार्यक्रमको सञ्चालन सञ्चालक समितिका सदस्य टुमनाथ काफ्लेले गरेका थिए । उक्त सहकारीमा हाल पाँच सय १५ जना शेयर सदस्य रहेका छन् ।