भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको जरायोटारका बासिन्दाले बल्लतल्ल गाउँमा सरकार पुगेको महसुस गर्न पाएका छन् । धेरै वर्षको पर्खाइपछि जरायोटारको कुटाङ बस्तीमा खानेपानी पुगेपछि उनीहरुले गाउँमा सिंहदरबार नै पुगे जस्तो ठानेका हुन् । भोजपुरको यो सुकौरो जरायोटार अहिले हराभरा देखिन्छ ।

 

यहाँका नागरिकको लामो समयको प्रतिक्षापछि गाउँमै खानेपानी पुगेपछि उनीहरुले आफ्नो गाउँलाई हराभरा बनाएका हुन् । सडक, यातायात, विद्युत, खानेपानी र कृषिमा धेरै समयपछि आमुल परिवर्तन आउँदा गाउँबासी पनि मख्ख देखिन्छन् ।

 

अझ खानेपानीको व्यवस्थाले त झन उनीहरुको जीवनशैली नै परिवर्तन भएको छ । गाउँको विकास भएन भनेर जनप्रतिनिधिको विरोध गरेको धेरै सुनिन्थ्यो तर कम भएको नवराज कटुवाल बताउँनुहुन्छ ।

 

हिउँदमा खानेपानीको मुहान सुकेपछि भाँडाकुँडा बोकेर दैनिक घण्टौ हिँडेर खानेपानीको जोहो गर्ने जरायोटारको यो कुटाङका स्थानीयलाई अहिले गाउँमा खानेपानी पुगेपछि खुट्टाको काँडो झिकेझैँ भएको छ । पानी पुगेसँगै यहाँका महिलाहरु अहिले करेसाबारी र तरकारी खेतीमा व्यस्त देखिन्छन् । वडा र गाउँपालिकाको आर्थीक सहयोगमा पानी संकलन र ट्ंयाकी निमार्ण भएपछि स्थानीय बासिन्दा हर्षित छन् ।

 

उनीहरुले अहिले बारीमा साग, कोपी, हिउँदे मकै, सुन्तला तथा नगदेबाली लगाएर खेतबारी र करेसाबारीलाई हराभरा बनाएका हुन् । तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि वर्षेनी हिउँदमा रोजगारका लागि बाहिरी जिल्ला जाने स्थानीयहरु अहिले गाउँमै कृषि कर्म गरेर लाखौँ आम्दानी गरिरहेको कमला कटुवालले बताउनुभयो ।

 

हिउँदमा पहिला सुख्खा खडेरी हुन्थ्यो भने खेतबारी उजाड देखिन्थे । तर, अहिले जताजतै हरियाली छ । तरकारी, फलफूल बेचेर घरायसी खर्च टरेको छ भने समयको बचतसँगै दैनिक करेसाबारीमा यहाँका गृहिणीहरु आजकल व्यस्त देखिन्छन् ।

 

निर्वाचनलगत्तै टोल–टोलमा पुगेर जनप्रतिनिधिले आवश्यकता पहिचान गरेसँगै यो गाउँमा यसरी चाँडै परिवर्तन आएको हो । आफूले गर्न सक्ने कामहरुलाई वडामै, पालिकामै र ठूला कार्यक्रमहलाई प्रदेश र केन्द्रमा पठाएर सहजिकरणको काम गर्दै आएको र यसकै उपज गाउँमा विद्युत, खानेपानी, सडक, कृषिमा आमुल परिवर्तन आएको अरुण गाउँपालिकाका ६ जरायोटारका वडाध्यक्ष ज्ञानेन्द्र दाहालको भनाइ छ ।

 

गाउँको विकास र परिवर्तन गर्न संघीयतासँगै स्थानीय तहमा आएका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण छ । जरायोटारका जनप्रतिनिधिले कुटाङमा विद्युत, खानेपानी, यातायात, कृषिमा गरेको विकास र परिवर्तनले यहाँका स्थानीयको आयश्रोत वृद्धि, कृषिमा आत्मनिर्भर, स्वरोजगारसँगै बसाइँसराइ समेत नियन्त्रण भएको छ । इमजे खबरबाट