काठमाण्डौ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ ।

 

कार्ड नभएकाले विगत १५ महिनादेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाखप्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विदेश जानेहरूका लागि मात्र आकस्मिक रूपमा लाइसेन्स दिने गरिएको थियो ।

 

अहिले नयाँ-पुराना गरी झण्डै ७ लाख स्मार्ट लाइसेन्स छपाइ हुन बाँकी रहेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिनुभयो । अब प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना रहेको उहाँको भनाई छ ।

 

सरकारले २०७२ सालबाट स्मार्ट लाइसेन्स वितरण थालेको हो । कार्ड सप्लाईको ठेक्का फ्रेन्च कम्पनी सेल्पले १४ करोड ८६ लाख रुपैयाँमा लिएको थियो ।

 

 

अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको छ । विभागले नयाँ आवेदन पनि खुला गरिरहेको छ । विभागका प्रवक्ता डा भुसालका अनुसार बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर कार्ड छपाइ हुनेछ ।

 

माघ मसान्तसम्म पुरानो बाँकी रहेको कार्ड प्रिन्ट गरिसक्ने दाबी छ । मेसिनले एक घण्टामा ४ सय ५० वटा कार्ड छाप्न सक्छ । कार्ड छाप्नासाथ २१ वटै यातायात व्यवस्था कार्यालय पठाइनेछ । कार्यालयमा पुग्नासाथ वितरण थालिने बताइएको छ ।