चेप्टी (इलाम) । प्राकृतिक स्रोत र साधनलाई प्रयोग गरेर दक्षिणी इलामको माइ नगरपालिकामा शनिबारदेखि ‘ह्याप्पी ड्रिम्स चेप्टी’ सञ्चालनमा आएको छ । माइ नगरपालिका २ चेप्टीमा ‘ह्याप्पी ड्रिम्स’ सञ्चालनमा आएको हो ।

 

रमणीय चुरे क्षेत्रको काखमा रहेको एउटा मनोरञ्जन स्थल जसको पश्चिम भागमा प्रसिद्ध तीर्थस्थल कनकाई नदी, दक्षिण भागमा नेप्टी खोल्सी, उत्तर-पूर्वी भागमा चेप्टी नदी र आकर्षक झोलुङगे पुल आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षण बन्न सक्ने सञ्चालकको लक्ष्य छ ।

 

वकासको दृष्टिकोणबाट ‘दुर्गम स्थान’ जस्तो देखिने उक्त क्षेत्रमा परियोजना सुरु भएपछि अहिले स्थानीयहरुले विकासको अनुभूति गर्न पाएका छन् । स्थानीयहरुले घरआँगनमै रोजगारी पाएपछि आर्थिक समृद्धिको यात्रामा उनीहरुले आफूलाई जोड्न पाउँदा उत्साहित देखिन्छन् । त्यहाँ परिवर्तन ल्याउने परियोजना भने त्यस क्षेत्रको अनुमानित दुई सय रोपनी क्षेत्रफलमा निर्माण कार्य भइरहेको नयाँ पर्यटकीय गन्तव्य ‘ह्याप्पी ड्रिम्स चेप्टी’को हो ।

 

 

प्रकृतिसँग नजिकै बसेर रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै र आगामी दिनमा उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उक्त परियोजना सुरु गरिएको परियोजनाका सञ्चालक दिनेश शिवाकोटीले बताए ।

 

उक्त परियोजना निर्माण कार्य सुरु भएको एक वर्ष दुई दिनपछि नयाँ वर्ष २०२२ को सन्दर्भमा सबैको लागि परियोजना निर्माण स्थल खुला गरिएको सञ्चालक शिवाकोटीले जानकारी दिए । पर्यटन क्षेत्रमा सफल व्यवसायीको पहिचान बनाएका उनले त्यस क्षेत्रको प्राकृतिक दृश्यहरुले आफूलाई आकर्षित गरेको हुँदा उक्त परियोजना अगाडि बढाइएको खुलासा गरे ।

 

झापाको व्यापारिक केन्द्र बिर्तामोडदेखि अनुमानित २५ किलोमिटर र परियोजना स्थलको दक्षिण भेगमा रहेको पूर्व–पश्चिम लोकमार्गदेखि अनुमानित पाँच किलोमिटर दूरीमा रहेको उक्त परियोजनाको कुल लागत एक अर्ब रहेको छ । हालसम्म ३२ करोड खर्च हुँदा परियोजनाको ३० प्रतिशत कार्य सम्पन्न भएको बताइएको छ ।

 

 

निर्माण भएका कार्यहरुमा चेप्टी नदी किनारमा १६ सय फिट लम्बाई बराबरको पर्खाल, कनकाई नदी किनारमा नौ सय फिट लम्बाई बराबरको गे्रट वाल, रक गार्डेन, स्नो गार्डेन, चिल्ड्रेन पार्क, गुफा, कृत्रिम झरना आदि निर्माण भएका छन् ।

 

त्यसैगरी पोखरीसहितको सेल्फी डाँडा, दुई वटा स्काई ब्रीज, साहसिक खेल जीप लाइनका लागि आवश्यक पूर्वाधार, पानीजहाजको प्रतिरुप, हवाईजहाजको प्रतिरुप आदि निर्माण भइरहेको सञ्चालक शिवाकोटीले बताए । परियोजनाको लागतमा थप लगानी वृद्धी गरी उक्त परियोजना अन्र्तगत झापाको पर्यटकीय क्षेत्र दोमुखादेखि चेप्टीसम्म अनुमानित ३.५ किलोमिटर केवलकार सञ्चालन गर्ने उनले लक्ष्य लिएका छन् ।

 

प्राकृतिकरुपमा रहेका सबै वस्तुहरुमा केवल सौन्दर्यीकरणको मात्र कार्य गरेको हुँदा उक्त परियोजना पूर्णरुपमा वातावरणमैत्री भएको उनले दावी गरे । यता परियोजना निर्माणको कार्य सुरु भएपछि त्यस क्षेत्रका एक सय ६० घरधुरीका परिवार प्रत्यक्ष रोजगारीबाट लाभान्वित भएको, प्रति रोपनी ५० हजारदेखि डेढ लाखमा बिक्री नहुने अवस्थामा रहेको जमिनको मूल्याङ्कन बढेको स्थानीय इश्वरबहादुर अधिकारी बताउँछन् ।

 

 

परियोजना स्थल पुग्ने सडकका कारण स्ट्रेचरमा बिरामी बोकेर हिँड्नुपर्ने बाध्यता हटेको, कृषिजन्य वस्तुहरुको ढुवानीमा सहज भएको, विद्युत् विस्तार भएको उनले बताए ।