फिदिम । खुदो र सख्खरको माग बढेपछि पाँचथरका कृषक उखु खेतीमा आकर्षित भएका छन् । जिल्लाको हिलिहाङ गाउँपालिकाको भारपा, सिमखर्कका साथै फिदिम नगरपालिकाको हेवाखोला आसपासका कृषकले श्रमिक नपाउँदा बाँझो भएका खेतमा उखु रोपेका छन् ।

 

कालो गँवारा जातको उखुको व्यावसायिक खेती गर्दै आएका पाँचथरका कृषक किसान यतिबेला उखु पेलेर खुदो र सख्खर बनाउन व्यस्त देखिन्छन् । जिल्लाको भारपा, सिमखर्कका साथै फिदिम नगरपालिकाको हेवाखोला आसपास उत्पादित कालो गँवारा उखुको सक्खरको माग अत्यधिक छ ।

 

सीमित क्षेत्रमा व्यावसायिकरूपमै उखु खेती हुन थालेपछि माग पूरा गर्न कृषकलाई हम्मेहम्मे परेको छ । यहाँ उत्पादित सख्खर स्थानीय बजारमा नै खपत हुने भएकाले यसको माग बढेको कृषकको भनाइ छ । उनीहरुले उत्पादन गरेको सख्खर प्रतिकिलो ५ देखि ७ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

 

कालो गँवारा उखुलाई औषधिको रुपमा मानिन्छ भने धार्मिक अनुष्ठानमा समेत यो उखुको सख्खरको प्रयोग हुने गरेको स्थानीय तुङ्ग प्रसाद भण्डारीको भनाइ छ ।

 

उखुको डाँठ पेलेर खुदो र सख्खर पकाइन्छ भने पात गाईवस्तुलाई खुवाइन्छ । त्यस्तै, उखुको टुप्पो बीउ रोप्न प्रयोग हुन्छ । सख्खर र खुदोको माग र मूल्य बढ्न थालेपछि धान रोप्न छाडेर कृषक उखु खेतीतर्फ आकषिर्त भएका हुन् । इमेज खबरका लागि इलामका पत्रकार प्रकाश नेपालले समाचार लेखेका हुन् ।