बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था फेरि देशकै उत्कृष्ट भएको छ । यसअघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष दोस्रो पटक उत्कृष्ट घोषित भएको हो ।

 

सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै पुरस्कृत गर्ने भएको छ ।यही फागुन २ गते काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुन लागको कोषको ३४औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गर्न लागिएको हो ।

 

खानेपानी संचालन, पानीको गुणस्तरीयता, महशुल, लिकेजलगायतलाई आधार मानेर दश जनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा आफूहरुको संस्था उत्कृष्ट बन्न सफल भएको संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए । उनले यसअघि पर्शुराम सिटौला उपाध्यक्ष हुँदा सन् २०१८ मा पनि आफूहरुको संस्था उत्कृष्ट बनेको जानकारी दिए ।

 

आफूहरुको संस्थाले नगर विकास कोषबाट आयोजना संचालन , मर्मत संभारका लागि लिएको ऋणको भुक्तानी, आयोजना समयमै सम्पन्न, उपभोक्ताहरुलाई दिएको सुविधाजस्ता मापदण्डमा संस्था अगाडि रहेको र त्यसैको प्रतिफल स्वरुप उत्कृष्ट घोषित भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।

 

संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाईले नेतृत्व सम्हालेदेखि नै बिर्तामोड खानेपानी संस्था अब्बल रहँदै आएको छ । पछिल्लो समय जलकुमार गुरुङले नेतृत्व सम्हालेयता यसको कुशल व्यवस्थापनका कारण यसले देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो ।

 

सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्यांकनका आधारमा पुरस्कृत गर्न लागिएकोमा कोषप्रति संस्थाले आभारसहित धन्यबाद प्रकट गरेको छ ।