पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षको अवसरमा चौँरी महोत्सव सुरु भएको छ । महोत्सव वैशाख ४ गतेसम्म चल्नेछ ।
उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजित महोत्सवमा चौँरी, चौँरीजन्य सामग्री तथा उच्च पहाडमा पाइने वस्तुको प्रदर्शनी तथा याक गोल्डकप आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए ।
विगतमा एकदिने महोत्सव आयोजना गरिँदै आएको थियो । फालेलुङ गाउँपालिकाको सहयोगमा फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरीपालन तथा संरक्षण संस्थाले महोत्सव आयोजना गरेका हुन् । तीन हजार ५६० मिटरको उचाइमा रहेको नेपाल-भारत सीमावर्ती क्षेत्रमा महोत्सव आयोजना गरिएको छ । यसवर्ष महोत्सवमा करिब पाँच सय चौँरीलाई एकसाथ प्रदर्शनमा सहभागी गराइने अपेक्षा छ ।
चौँरीपालनमा आधारित संस्कृति लोप हुँदै गएको र त्यसको संवर्द्धन गर्दै उच्च पहाडी क्षेत्रमा पर्यटक भित्र्याउन मद्दत गर्न, चौँरीजन्य सामग्रीको बजार र मूल्य सुनिश्चितताका लागि सहयोग गर्न, जैविक विविधताको संरक्षण गर्दै वातावरण संरक्षणमा जोड दिन, रैथाने परम्परा, कला संस्कृतिको संवर्द्धन गर्न महोत्सवबाट सहयोग पु¥याउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका उपाध्यक्ष शिल्प साम्पाङले बताए । स्थानीय उत्पादनको प्रदर्शनी, भेँडाको ऊनबाट बनेका सामग्रीको प्रदर्शनी र बिक्री, घोडचढी, याक चढी, गोठबास (गोठस्टे) मा बसोबासको प्रबन्ध जस्ता महोत्सवका आकर्षण हुन् ।
चौंरीलाई हिमालको संस्कृति र पर्यटनसँग जोड्दै महोत्सवका माध्यमबाट पर्यटनको विकास पनि गर्न खोजिएको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको भनाइ छ । भारतको सिक्किम र पश्चिम बंगालसँगको सीमावर्ती क्षेत्रमा आयोजना गरिएको महोत्सवमा पाँचथरको याङवरक र फालेलुङका गोठबाट ल्याइएका विभिन्न रङ र प्रजातिका चौंरी आकर्षणको केन्द्र बनेका छन् ।
महोत्सव हेर्न प्रदेश १ का पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा र मोरङसँगै भारतको सिक्किम, दार्जिलिङ, पञ्जाब र कर्साङका बासिन्दा पुगेका छन् ।