इलाम । इलामको रोङ गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको छ । परम्परागतरुपमा हुँदै आएको मौरीपालन व्यवसायलाई गाउँपालिकाले किसानलाई आधुनिक प्रविधि र घार हस्तान्तरण गरेसँगै किसानको आकर्षण पनि बढेको हो ।
कम मिहेनतमा अर्गानिक उत्पादन र उच्च मूल्य पाउने भएपछि किसानहरुको आर्कषण मौरीपालनमा बढेको हो । स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह प्रतिकेजी १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह इलामको बजारका अतिरिक्त झापासँगै काठमाडौंसम्म र भारतमा समेत बिक्री हुने गरेको छ ।
रोङ गाउँपालिकाको चुरे क्षेत्रमा बढी मात्रामा मौरीपालन व्यवसाय हुने गरेको छ । मौरीपालनलाई व्यवस्थित गर्नका लागि रोङ गाउँपालिकाले मौरी विकास शाखा नै स्थापना गरेको छ । कृषि विकास शाखाबाट कार्यक्रम कार्यान्वयन हुने तालिमलाई तिव्रता दिएपछि किसानहरुको आर्कषण मौरीपालनमा बढ्दै गएको पाइन्छ ।
चुरे क्षेत्रमा मौरीलाई चाहिने फूलजन्य बोटबिरुवा लगाउँदा भूक्षयसमेत नियन्त्रण हुने भएकाले चुरे संरक्षणसंगै किसानहरुको आम्दानी वृद्धि हुँदै आएको छ ।
खेतीवालीमा विषादि प्रयोग नहुने र खुल्ला चरिचरन भएको क्षेत्र मौरीको लागि उचित स्थान मानिन्छ । सरकारी तथ्यांकअनुसार इलामका २ हजार किसानले मौरीपालन गरेका छन् । इलाममा वार्षिक २२ मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । इमेज खबरबाट